काठमाडौं – बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले नेपालको राष्ट्रिय फुटबल टिमसंग खेल्ने दुई मैत्रीपूर्ण खेलको मिति तय गरेको छ ।
मंगलबार राति एक सूचना सार्वजनिक गर्दै बीएफएफले नेपाल र बंगलादेशबीच हुने दुई मैत्रीपूर्ण खेलको मिति जानकारी गराएको हो ।
बीएफएफका महासविच अबु नईम शोहागका अनुसार नेपालले बंगलादेशसँग नोभेम्बर १३ र १७ तारिखका दुई खेल खेल्नेछ ।
अर्थात नेपाली मिति अनुसार नेपालले पहिलो खेल कात्तिक २८ गते र दोस्रो खेल मंसिर २ गते खेल्नेछ ।
दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुने जनाईएको छ ।
बंगलादेशले नेपालविरुद्ध खेल्ने ३६ सदस्यीय खेलाडी नाम समेत सार्वजनिक गरेको छ । गतहप्ता नेपाल सरकारले समेत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलको प्रस्ताव स्विकृत गरेको थियो ।
नेपाल सरकारले अनुमतीसंगै बीएफएफले आवश्यक तयारी सुरु गरेको थियो ।
यसअघि कम्तिमा एक मैत्रीपूर्ण र अवस्था अनुसार दुई मैत्रीपूर्ण खेल हुन सक्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको थियो ।
मैत्रीपूर्ण खेल पक्का गरेपनि एन्फाले मिति भने सार्वजनीक गरेको थिएन ।
यता, एन्फाले दशैं लगत्तै राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
कोरोना महामारीका कारण चैतबाट खेलकुद गतिविधि सुरु हुन सकेका छैनन् ।