काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ ।
कोरोना भाइरस संक्रमणबाट बच्न दूरी कम गर्दै बिओके स्मार्टमार्फत हिन्दूहरूको चाड बडादसैंको उपलक्ष्यमा हर्षोल्लासका साथ बैंकले आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई डिजिटल दक्षिणा योजनामा ‘तीनमा तीन सय’ दिने योजना बुधबार विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।
साधारणतया बडा दसैँमा आफ्नो मान्यजनहरूबाट आशिर्वाद लिई दक्षिणा स्वरूप पैसा लिने÷दिने चलन चल्दै आएकोमा व्यक्तिगत दूरी राख्न सहयोग पुग्ने हेतुले बैंकले तीनमा तीन सय नगद उपहार दिने योजना अगाडि ल्याएको बैंकले जनाएको छ ।
बैंकका अनुसार बैंकको ग्राहकहरूले तीनपटक भिन्न–भिन्न व्यक्तिलाई बैंकको मोबाइल बैंकिङ प्रयोग गरी दक्षिणा प्रदान गर्दा १ हजार वा सो भन्दा बढी भएमा ३ सय नगद उपहार पाउनेछन् ।
उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले सर्तहरू पालना गर्नुपर्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकहरूले मोबाइल बैंकिङको प्रयोग गरी कम्तीमा तीनपटक रकमान्तर गर्नुपर्ने, रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनुपर्ने, उक्त डिजिटल दक्षिणामा कारोबार गर्दा १ हजार वा सो भन्दा बढी हुनुपर्ने र दक्षिणा दिँदा बैंकको मोबाइल बैंकिङमा भएको फोन पेमार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरूप रकमान्तर गर्नुपर्ने छ ।
कारोबारको विवरणमा ‘दक्षिणा’ राख्नु पर्नेछ र उक्त योजनामा सहभागी हुन ग्राहकहरूले विजय दशमीको दिनबाट रकमान्तर गर्नु पर्ने बैंकले जनाएको छ ।
भाइरसको संक्रमणलाई मध्यनजर गर्दै ०७७ को बडादसैैँमा व्यक्तिगत दूरी कायम गरी मनाउन र नगद उपहारबाट लाभान्वित हुन बैंकले अनुरोध गरेको छ ।