काठमाडौं – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको प्रशिक्षण मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार पुरुष टिमको क्लोज क्याम्प मंसिर दोस्रो साताबाट सुरु गर्ने निर्णय गरेको छ ।
क्यानको बोर्ड बैठकले टिमको क्लोज क्याम मंसिर १० गतेबाट गर्ने निर्णय गरेको हो ।
क्यानले कोरोना भाईरसलाई मध्ये नजर गर्दै सरकारले बनाएको प्रोटोकललाई पूर्ण पालना गर्दै टिमको तयारी थालिने जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रशिक्षणको अनुमति दिएपछि क्यान प्रशिक्षण सुरु गर्न लागेको हो ।
कोरोना भाईरसको महामारीको कारण करिब ८ महिनाबाट क्रिकेट टिमका खेलाडीले सामूहिक अभ्यास गर्न पाएका छैनन् ।
यस्तै शनिबार बसेको क्यानको भर्चुअल बैठकले अन्य निर्णयहरू समेत गरेको छ ।
क्यानले टियु मैदानमा रहेको पेभेलियन हल भारतीय दूतावासको सहयोगमा स्तरोन्नति गर्ने निर्णय गरेको छ ।
मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा ड्रेजन निर्माण र स्तरोन्नतिको काम अघि बढाउने निर्णय गरिएको क्यानले जनाएको छ ।
दुर्गाराज पाठकको संयोजकत्वमा नेसनल क्रिकेट एकेडेमी संचालन कार्यविधि निर्माण गर्ने र राष्ट्रिय क्रिकेट टिमलाई आवश्यक फिटनेस ट्रेनर खरिद गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रसान्त बिक्रम मल्लको सयोजकत्वमा ऋषि गौतम, दुर्गाराज पाठक, कैलाश बिष्ट र छुम्बी लामा सदस्य रहेको समितिलाई दुई साताभित्र ३ वर्षीय रणनैतिक योजना निर्माणको काम समेत दिएको छ ।
यस्तै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता डिसेम्बर अन्त्यमा गर्ने निर्णय समेत बैठकले गरेको छ ।