कास्की– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले वर्तमान सरकार गठनपछि देशभर खेल पूर्वाधार निर्माणले तीव्रता पाएको बताएका छन् ।
पोखरा–२३ बाम्दीमा नवनिर्मित भलिबल मैदानको शनिबार उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेल क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण सरकारको प्राथमिकता केन्द्रित रहेको स्पष्ट पारे ।
‘पूर्वाधार निर्माणबाट मात्रै गाउँ गाउँमा खेलकूद गतिविधि बढेर नयाँ खेलाडी उत्पादनमा सघाउ पुग्दछ’, मन्त्री विश्वकर्माले भने, ‘त्यसका लागि वर्तमान सरकारले खेलकूद पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको छ ।’
गत वर्षदेखी एक स्थानीय तह एक खेलग्राम कार्यक्रम कार्यान्वयन शुरु गरिएकाले सबै तहमा स्थानीयस्तरको रंगशाला निर्माण गरिने उनले बताए ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले भलिबल कोर्टसहित बाम्दीमा पक्की कालोपत्रे सडक निर्माण शुरु भएकाले खेल गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले गत वर्ष सम्पन्न १३ औँ सागमा निर्माण गरिएका पूर्वाधारको भुक्तानी अझै बाँकी रहँदा समस्या भएको बताए ।
राष्ट्रिय खेलकूद परिषद्ले गत वर्ष उपलव्ध गराएको रु ५० लाख बजेटबाट भलिबल कोर्ट निर्माण गरिएको जिल्ला भलिबल संघका अध्यक्षसमेत रहेका स्थानीयवासी भीम पराजुलीले बताए ।
सो मैदानका लागि स्थानीयवासीबाट रु पाँच लाख ८४ हजार बराबरको श्रमदान भएको बताइन्छ ।
वडा कार्यालयले भलिबल कोर्टसहित दर्शकका लागि प्यारापिट निर्माण गर्न जग्गा उपलव्ध गराएको सोही वडाका वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले जानकारी दिए ।
जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले गत वर्ष जिल्लामा विभिन्न १६ खेल मैदान निर्माण तथा स्तरोन्नति गरिएको जानकारी दिए ।