काठमाडौं – चिनियाँ अदालत झङझाओ इन्टरमिडियटले बैंक अफ कठमाण्डौं र हिमालयन बैंक लिमिटेडको पक्षमा फैसला सुनाएकोे छ ।
चीनको हेनान प्रान्तस्थित चिनियाँ अदालत झङझाओले मेलम्ची खानेपानी आयोजनाका ठेकेदार चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत् ग्यारेन्टी रकम फिर्ता गर्ने वा नगर्ने भन्ने सबन्धमा चाइना बिओके र हिमालयनबीचको मुद्दामा नेपाली बैंकको पक्षमा शुक्रबार फैसला सुनाएको हो ।
ठेकेदार कम्पनीले खानेपानी आयोजनाका लागि कन्स्ट्रक्सन बैंकमार्फत् बिओके र हिमालयनबाट बैंक ग्यारेन्टी रकम भुक्तानी लिएको तर उक्त कम्पनीले आयोजनाको काम बीचैमा छोडिदिएपछि बैंक ग्यारेन्टी बापतको रकम आयोजनाले जफत गरेको बैंकले जनाएका छन् ।
कम्पनीको बैंक ग्यारेन्टी जफत भएपछि बिओके र हिमालयनले चाइना कन्स्ट्रक्सन बैंकसँग ग्यारेन्टीबापत रकम भुक्तानी माग गर्दा अस्वीकार गरेपछि उक्त विषय अदालतसम्म पुगेको हो ।
बैंकका अनुसार ठेक्का प्रक्रियामा बैंकहरूको भूमिका नरहने हुनाले आयोजनाले बैंक ग्यारेन्टी बापतको रकम भुक्तानी गर्न आदेश दिएको हो ।
आदेश प्राप्त भएसँगै बिओके ९० करोड र हिमालयनले करिब ६६ करोड रूपैंया पाउने बताइएको हो ।
उक्त रकम भुक्तानीका लागि बैंकहरूले शुक्रबार चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरेको जनाएका छन् ।
बीओके, हिमालयन बैंकको रकम डुब्दा नेपाली बैंकहरूले विदेशी कम्पनीको लागि लिइदिने बैंक ग्यारेन्टी नै जोखिममा परेको विश्लेषण हुदैँ गर्दा दुवै मुद्दा नेपाली बैंकको पक्षमा आएपछि बैंकहरूले बैंक ग्यारेन्टीमा गर्दै आएको लगानी असुरक्षित नरहेको प्रमाणित समेत भएको छ ।