पोखरा, २१ बैशाख /प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग स्वतन्त्र पत्रकार संघ नेपाल राष्ट्रिय समितिको टोलीद्वारा ज्ञापनपत्र बुझाउँदै पत्रकारिताको वस्तुस्थिति बारे अवगत गराउँदै माग पुरा गर्न आग्रह गरेको छ ।
संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको नेतृत्वमा गएको टोलीले स्वतन्त्र पत्रकार संघद्वारा हालै पाल्पामा सम्पन्न ७ औँ वार्षिक साधारणसभाका अवसरमा जारी पाल्पा घोषणापत्रसहित ज्ञापन पत्र बुझाएको हो ।
मुख्यमन्त्री गुरुङले ज्ञापनपत्र बुझ्दै प्रदेशप्रति जनताको अपेक्षा अनुसार केन्द्रीय सरकारको दृष्टि र व्यवहार उदार हुन नसकेको बताए । उनले प्रदेशलाई ३३ प्रतिशत बजेट उपलब्ध हुनुपर्ने आफ्नो धारणा रहेको बताए । माथि बस्नेहरूको केन्द्रीकृत सोचले काम गर्न अप्ठेरो भएको उनले बताए ।
मुख्यमन्त्री गुरुङले संघद्वारा पेश गरिएको मागपत्रमा उल्लेख भएका सिन्डिकेट, लोककल्याणकारी विज्ञापन, समानुपातिक विज्ञापनका सहित विविध पक्षकाबारेमा जिज्ञासा राखेका थिए । ती जिज्ञासा बारेमा संघका राष्ट्रिय सल्लाहकार नारायण कार्की, राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोला र महासचिव नवराज पहाडीले प्रष्ट्याएका थिए । सो क्रममा संघका केन्द्रीय सल्लाहकार नारायण कार्कीले स्वतन्त्र पत्रकारिताको विश्वव्यापी मान्यतालाई कायम गरी राज्यपक्षबाट स्वतन्त्र पत्रकारिता विकासमा भूमिका खेल्नुपर्ने बताए । संघका केन्द्रीय अध्यक्ष कृष्ण प्रसाद बास्तोलाको नेतृत्वमा भएको सो कार्यक्रममा सरकार पक्षबाट दिंदै आएको सहयोगमा संघलाई पनि समेट्नुपर्ने बताए ।
ती मागलाई आफूले अध्ययन गरी पत्रकारिताको विकासमा सक्दो सहयोग गर्ने मुख्यमन्त्री गुरुङले प्रतिवद्धता व्यक्त गरे ।
संघको जेठ १९ गते पाल्पामा सम्पन्न केन्द्रीय साधारणसभाद्वारा पारित ९ बुँदे घोषणापत्र मार्फत आम पत्रकारको क्षमता अभिवृद्धि, समानुपातिक विज्ञापन नीतिलाई प्रदेश मार्फत गर्नुपर्ने, सिण्डिकेट विरुद्ध सरकारले थालेको अभियानको स्वागत गर्दै संचार जगतमा देखिएको सिण्डिकेट हटाउनुपर्ने, लोककल्याणकारी विज्ञापन नीतिलाई शतप्रतिशत बृद्धि गर्नुपर्ने, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनमा जोड दिनुपर्ने माग राखिएको संघका कास्की शाखाका अध्यक्ष कृष्ण थापाले बताए ।
मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउने टिममा बरिष्ठ उपाध्यक्ष उदय राज अमात्य, प्रदेश उपाध्यक्ष दिननाथ बराल, उपमहासचिव शिला गुरुङ, केन्द्रीय सदस्य गणेश बराल लगायत सहभागी थिए ।
संघको सम्पन्न सातौं साधारणसभाले पहिलो चरण प्रत्येक प्रदेश मार्फत ध्यानाकर्षण गराउने, दोस्रो चरणमा केन्द्रीय सरकार समक्ष माग सहितको ध्यानाकर्षण गराउने, पत्रकारिता क्षमता अभिवृद्धि, कोष व्यवस्थापन, शाखा विस्तार सहित संघको सांगठानिक एवं आर्थिक प्रतिवेदनलाई पारित गरिएको महासचिव नवराज पहाडीले बताए । संघको हाल १८ जिल्लामा शाखा सञ्चालित छन् । केही जिल्लामा निकट भविष्यमै थपिने तयारीमा छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५ १६:५८