काठमाडौं– सुरेन्द्रकुमार दाहाल मोडलिङको क्षेत्रमा परिचित नाम हो । विशेष गरेर लोकगीतका म्युजिक भिडियोमा नृत्य तथा अभिनय गरेका उनले लोकदोहोरीतर्फबाट ‘सर्वोत्कृष्ट मोडल’को अवार्डसमेत हात पारिसकेका छन् । उनले विभिन्न राष्ट्रिय स्तरका अवार्ड पाँचौ पृथ्वी लोक दोहोरी अवार्ड, पाँचौ राष्ट्रिय राप्ती म्युजिक अवार्ड, नेपाली आर्ट कल्चर म्युजिक अवार्ड र विभिन्न राष्ट्रिय स्तरका सम्मान तथा पुरस्कार जितिसकेका छन् ।
सुरेन्द्रको संघर्ष
पाँच सयभन्दा बढी लोकगीतको कोरस, एकसय भन्दा धेरै चलचित्रको कोरस तथा चारसय भन्दा धेरै बढी लोकगीतमा लिड मोडेलका रूपमा अभिनय गरेका उनी अहिले पनि व्यस्त मोडल मध्येका एक हुन् । करिब ६० को दशकदेखि लोकगीतको कोरसमा नाच्न थालेका उनको संघर्षको कथा कम रोचक छैन ।
काभ्रेको भकुण्डेबसीका दाहाल मोडल बन्ने हुटहुटीले २०६१ मा काठमाडौंसम्म आइपुगे । एसएलसी काभ्रेबाटै सकाएपछि उनी थप अध्ययनको लागि पारिवारिक सहमति मै काठमाडौं आए । तर, उनको ध्यान औपचारिक अध्ययन भन्दा बढी कलाकार कसरी बन्न सकिन्छ भनेर अध्ययन गर्ने थियो । बानेश्वरमा कलेज पढ्न थालेका उनको बसाइँ भने पेप्सीकोलामा थियो । उनी बिहान बस चढेर कलेज आउथे । तर, छुट्टी भएपछि पैदल नै कोठासम्म फर्किन्थे ।
उनी पैदल फर्कनुपर्ने बाध्यता भन्दा बढी रहर थियो । पैदल फर्किदा उनी बाटोमा भएसम्मका सबै पसल, होटल, कार्यालयको साइनबोर्ड पढ्दै हिड्थे । खासमा उनी ती बोर्डहरूको बीचमा कतै कलाकार बनाउने वा बन्न पाइने अवसर लेखिएको बोर्ड छ कि भनेर नियालिरहन्थे ।यस्तैमा उनको आँखा कोटेश्वरको एउटा डान्स सेन्टर पर्यो । उनी नृत्य सिक्न डान्स सेन्टरमा जोेडिए । त्यो चर्चित कलाकार गोपाल नेपाल ‘फिस्टे’ले सञ्चालन गरेको डान्स सेन्टर थियो । उनले नेपालसँगै करिब तीन महिना अभिनय र नृत्य सिके । त्यसबेला नेपाल टेलिभिजनमा ‘जिरे खुर्सानी’ टेलिसिरियल भर्खर प्रशारण हुन थालेको थियो । केही समयपछि उनले जिरे खुर्सानीलगायतका टेलिसिरियल पनि सानो भूमिका पाए । सँगै उनले लोकगीतहरूमा कोरस नाच्न थाले ।
शंकरको खोजी
सुरेन्द्रले नृत्य सिक्न थालेका बेला लोकदोहोरीको म्युजिक भिडियोमा करिब करिब शंकर बिसीको एकछत्र राज जस्तै थियो । अधिकांश लोकगीतका भिडियोमा शंकरको उपस्थिति हुन्थ्यो । कोरसमा नाच्न थालिसकेका उनलाई पनि लिड रोल (मोडल)का रूपमा काम गर्ने यति उत्कट चाहाना बढेर आयो कि उनी शंकर बिसीलाई पच्छ्याउन लागे । कोरस नाचेवापतको २ सय रूपैयाँ पारिश्रमिक र रोलले उनलाई चित्त बुझेन र शंकर बिसीको खोजीमा लागे । ‘शंकर गुरुलाई कहिँ त भेटिएला नि भनेर, बाटोमा पनि सधै चनाखो भएर हिँड्थे’, उनी संघर्षका दिन सम्झन्छन्, ‘उहालाई बाटामा भेटिएला भनेर बस समेत नचढी म सधैं कलेजबाट पैदलै कोठा फर्कन्थे ।’ यस्तैमा उनको भेट शंकरसँग भयो । उनले शंकरकै डान्स सेन्टरमा करिब ६ महिना भन्दा बढी समय सिके र आफ्नो नृत्यकलामा थप निखारता ल्याए ।
पहिलोपटक लिड रोलमा
उनले पहिलो पटक ०६९ मा ‘पूर्णिमाको जूनमा पनि दाग छ...’ बोलको गीतमा लिड रोलमा अभिनय गर्ने मौका पाए । गीत सुपरहिट भयो । लालकुमार बरालको लेखन रहेको यो गीतमा रामजी खाँड र टीका पुनले आवाज दिएका थिए । उनले रञ्जिता गुरुङसँग अभिनय गरेका थिए ।
पहिलो पटक लिड रोलमा अभिनय गर्ने प्रस्ताव आएको क्षण अहिले पनि उनलाई ताजै छ । प्रस्ताव आएको करिब एकहप्तामा सुटिङ भएको थियो । उनलाई त्यो समय साह्रै लामो जस्तो लागेको थियो । उनी पूर्ण तयारीका साथ बसेका थिए । तर, फेरि पहिलो पटक लिड रोलमा अभिनय गर्दा कस्तो हुने हो भनेर नर्भस पनि थिए । कोरसमा नाच्दा कसैको आँखामा नपर्ने उनी लिड रोलमा आएपछि अग्रजहरू, टिभिमा आएपछि घरपरिवार र आफन्तले के भन्ने हुन् भन्ने पीर पनि थियो । जसै गीत बजारमा आयो, उनको कामको सबैबाट प्रशंसा भयो । त्यसयता उनले पछाडि फर्केर हेर्न परेन भन्दा पनि हुन्छ ।
‘पलपल झल्को...’, ‘वाचा कसम खाको...’, ‘पूर्णिमाको जून छ...’, ‘छुट्यो माया...’, ‘मनको माया देखाऊ भने नि...’, ‘नसर पर पर...’, ‘उराठलाग्दो चैत हजुर...’, ‘रात बित्छ तिम्रै सम्झनामा....’, ‘पिरतीको लगनगाँठो...’लगायतका लोकगीत र दुई दर्जनभन्दा बढी आधुनिक गीतमा समेत उनले लिड रोल गरेका छन् ।
त्यस्तै उनले एक सयभन्दा बढी चलचित्रका गीतमा पनि नृत्य गरेका छन् । नृत्यसँगै उनले मेरी बास्सै, जिरे खुर्सानी, रातो पिरो, गोलमाललगायत टेलिसिरियलमा पनि अभिनय गरेका छन् ।
भिडियो सुटको बेला जब गीत बज्छ उनी आफूलाई बिर्सन्छन् । भिडियोमा कुन भूमिका छ, आफूले के गर्ने हो त्यही पात्र जस्तै बनिदिन्छन् उनी । कहिले वियोगान्त गीतमा रुँदै विरक्तिएको देखाउनुपर्छ त कहिले प्रेमिकासँगका रोमान्टिक सिन । उनी जस्तोसुकै भूमिका पनि सजिलै निभाउँछन् ।
चलचित्रको भूत
गीतको मोडलिङमा जमिसकेका उनलाई अब चलिचत्रमा अभिनयको भूत चढेको छ । पछिल्लो समय एकजना निर्देशकले एउटा चलचित्रका लागि प्रस्ताव गरेको उनले मुहारमा कान्ति ल्याउँदै सुनाए । यद्यपि उनले सबैकुरा फाइनल नभइसकेकाले अहिले नै त्यसबारेमा थप बताएनन् । तर, उनी भन्छन्, ‘मलाई अहिले अभिनयको भूत चढिसकेको छ । मौका पाए भने मोडलिङमा जस्तै चलचित्र क्षेत्रमा पनि आफूलाई सशक्त अभिनेताका रूपमा प्रस्तुत गर्नसक्छु भन्ने हिम्मत छ ।’ म्युजिक भिडियो र चलचित्रमा गरिने अभिनयमा खास भिन्नता नहुने उनको बुझाइ छ । गीतमा अभिनय गर्दा पनि परिस्थिति अनुसार कलकारले आफूलाई पात्रमा रूपान्तरण गर्नुपर्छ । चलचित्रमा अभिनय गर्दा पनि त्यस्तै हो ।
त्यसो त, उनले धेरै चलचित्रमा पनि साहायक कलाकारको भूमिका निर्वाह गरिसकेका छन् । तर, छोटो भूमिकाका कारण आफू निर्माता, निर्देशकहरूको रोजाइमा पर्न नसकेको उनको बुझाइ छ । मौका पाएमा आफ्नो भूमिकालाई न्याय गर्नसक्ने उनको आत्मविश्वास छ । तर, मौका पाउन कि पैसा खर्च गर्नुपर्ने कि आङ्खनै नातेदार हुनुपर्ने अवस्था रहेकोमा भने उनको चित्त दुखाई छ ।