काठमाडौं– कलाकार पुष्पराज ‘पुरुष’ लामो समयपछि अभिनयमा फर्किएका छन् ।
पछिल्लो समय अध्यात्ममा हराएका उनी करिब दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किएका हुन् । उनलाई अभिनयमा फर्काउने काम निर्देशक देवेन्द्र पाण्डेले गरेका छन् । पुष्पराजले करिब दशक अगाडि चलचित्र ‘श्रीमान’मा अभिनय गरेका थिए ।
गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’ को शब्द रहेको गीतको भिडियोमा उनी योगी अवतारमै देखिएका छन् । गीतकार प्रसाईको केही दिन अगाडि ‘पुरानो घाउ’ बोलको गीत सार्वजनिक भएको थियो ।
प्रताप दासको स्वर र राजेन्द्र सुवेदीको संगीत रहेको भजनमा संगीतकार सुवेदीकै संगीत संयोजन छ । गीतको भिडियो पनि बनेको छ । जसमा पुष्पराज पुरुष, उत्तम केसी, बालकलाकार सदुर्श चुँडाल, प्रत्युस विमलीलगायतको अभिनय देख्न सकिन्छ । चक्र बरालको छायांकन, विकास दाहालको सम्पादन रहेको भजन गीतको भिडियो देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् ।