दोलखा– गौरीशंकर गाउँपालिका–८ स्थित खारे माध्यामिक विद्यालयका प्रधानाध्यापक नरेन्द्रहसिंह महतले आफ्नो विद्यालयले असल नागरिक उत्पादन गरेर देशलाई दिने प्रतिबद्धता गरेका छन् । बिहीबार विद्यालयको ५३औँ वार्षिक उत्सवमा आयोजित कार्यक्रममा प्रधानाध्यापक महतले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
विद्यालयको नारा नै ‘तपाईं हामीलाई आफ्नो विद्यार्थी दिनुहोस्, हामी तपाईंलाई एउटा असल नागरिक दिनेछौँ’ भन्ने भएकाले सिकाइको आधारभूत सिद्धान्तअनुसार विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उनले बताएका छन् । पठनपाठनका सहज होस् भनेर अहिले विद्यालयमा हाल तीन ओटा सुबिधा सम्पन्न भवन, बालमैत्री शौचालय, कम्प्युटर ल्याब लाइब्रेरी रहेको र चौतर्फी निगरानीका लागि सिसी क्यामेरा राखिएको प्रधानाध्यापक महतले जानकारी दिएका छन् । त्यस्तै, हाल खेल मैदानको आवश्यकता रहेकाले निर्माणका लागि स्थानीय तह तथा सहयोगी मनहरुलाई आग्रह गरे ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रेवतबहादुर बुढाथोकीको सभापतित्व र गौरीशंकर गाउँपालिकाको अध्यक्ष सोयमबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विद्यालयलाई उत्कृष्ट बनाउन अनवरत खट्दै आएका प्रधानाध्यापक महतको उच्च मूल्यांकन गर्दै वशिष्ठ स्मृति प्रतिष्ठानद्वारा उनलाई प्रशंसा पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा वरिष्स्ठ पत्रकार तथा वशिष्ठ थापा स्मृति प्रतिष्ठानको अध्यक्ष बलराम थापाद्वारा चार जना र रत्नधर्म प्रतिष्ठानको तर्फबाट पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यस्तै, कार्यक्रमको अवसरमा जग्गादाता दिव्यध्वज कार्की अक्षयकोष निर्माण गरी विद्यालयलाइ योगदान पु¥याउने समाजसेबी हरिद्वार कुँवरलगायत विभिन्न कोणबाट सहयोग पुर्याउने सात अभिभावक तथा व्यक्तिहरुलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथिका रुपमा गाउँपालिका उपाध्यक्ष उर्मिला थामी, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना जनसरोकार समितिका अध्यक्ष दिव्यध्वज कार्की, वरिष्ठ पत्रकार बलाराम थापा तथा अतिथिहरु पालिकाभित्रको सबै विद्यालयको शिक्षक र सबै वडाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।