काठमाडौं– दशौं संस्करणको ‘नेङ्खटा फिल्म अवार्ड’मा चलचित्र ‘छक्का पन्जा ३’ ले वर्चश्व कायम गरेको छ । शनिबार होटल सोल्टी क्राउन प्लाजामा भएको अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अवार्ड वितरण समारोहमा चलचित्र क्षेत्रमा नयाँ तथा पुराना कलाकार, प्राविधिक, निर्माता, निर्देशक लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
यो वर्ष ‘छक्का पन्जा ३’ ले चलचित्रले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट हाँस्य कलाकारलगायतका मुख्य विधामा अवार्ड प्राप्त गरेको छ । यस्तै, उत्कृष्ट नायकको अवार्ड विपिन कार्कीले चलचित्र ‘प्रसाद’बाट पाउँदा उत्कृष्ट नायिकाको अवार्ड मेनुका प्रधानले चलचित्र ‘साँइली’बाट प्राप्त गरिन् । यस्तै, नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ‘पपुलर नायक–नायिका’को अवार्ड जित्न सफल भए ।
अवार्डमा साउन्ड इन्जिनियर प्रदिपकुमार उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई जनही ५१ हजार नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथी उपराष्ट्रपति नन्दबहादुर पुनले उनीहरूलाई ताम्रापत्र र चेक प्रदान गरेका थिए ।
विभिन्न ३६ विधामा आयोजकले अवार्ड प्रदान गरेको थियो । वि.सं २०७५ सालमा रिलिज भएका चलचित्रहरूलाई यो वर्ष नेङ्खटाले अवार्ड प्रदान गरेको थियो । नेङ्खटाका अध्यक्ष पुष्कर लामाले सुनसान रहेको चलचित्र क्षेत्रलाई नेङ्खटा अवार्डले उत्साह भरेको बताए । यस्तै, ड्रिम हाई नेपालका अध्यक्ष कमल जीसीले अवार्ड भव्यताका साथ सम्पन्न भएकोमा खुसी व्यक्त गरे । ड्रिम हाई नेपाल र चलचित्र प्राविधिक संघले यो वर्षको नेङ्खटा अवार्ड संयुक्त रूपमा आयोजना गरेका थिए ।