काठमाडौं– ‘महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न भएको छ । एक सय एघारौं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हिंसा न्यूनीकरणका लागि लैंगिक सम्पर्क व्यक्तिहरुको भूमिकाबारे बुधबार राजधानीमा परामर्श कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय महिला आयोग र बियोण्ड बेइजिङ कमिटी, नेपालको संयुक्त आयोजना तथा एसिया प्यासेफिक फोरम अन ल एन्ड डेभलपमेन्टको सहयोगमा सम्पन्न कार्यक्रममा दिगो विकास लक्ष्यहरुको स्थानीयकरणमार्फत नेपालमा महिलाको मानव अधिकार सुनिश्चित गराउन लैंगिक सम्पर्क व्यक्तिहरुको भूमिकाको बारेमा अन्तक्र्रिया भएको थियो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिब यामकुमारी खतिवडा र बियोण्ड बेइजिङ कमिटी नेपालका मानार्थ अध्यक्ष शान्ता लक्ष्मी श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र लैंगिक समानताका लागि महिलाको मानव अधिकार सुनिश्चितता र दिगो विकास लक्ष्य प्राप्तिका लागि लैंगिक सम्पर्क व्यक्तिको भूमिका,महत्व एवं चुनौतिका विषयमा केन्द्रित रहेर गरिएको थियो ।
कोभिडका कारण महिला हिंसाको संख्या झनै बढेको बताउँदै अध्यक्ष श्रेष्ठले यसको न्यूनीकरणका लागि लैंगिक सम्पर्क व्यक्तिहरु सशक्त भई उत्तरदायीपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् । साथै महिला सशक्तिकरणले पूरा राज्य नै शक्तिशाली र सम्पन्न हुने बताउँदै अध्यक्ष श्रेष्ठले हालको संघीय राज्य संरचनामा सातै प्रदेशमा महिला मन्त्रालय हुनुपर्ने धारणा राख्दै यसका लागि लैंगिक सम्पर्क व्यक्तिहरुले सशक्त रुपमा पहलकदमी गर्नुपर्ने समेत आह्वान गरे ।
कार्यक्रममा महिला तथा बालबालिका मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालयलगायत १५ वटा मन्त्रालय र बिभिन्न आयोगका लैंगिक सम्पर्क व्यक्तिहरु र योजना अधिकृतहरुको सहभागिता रहेको थियो । कार्यक्रममा लैंगिक सम्पर्क व्यक्तिहरुले आ–आफ्नो मन्त्रालय, आयोग कार्यालयमा भएको लैंगिक समानाताका क्रियाकलाप सम्बन्धी अनुभव साटासाट गर्दै लैंगिक उत्तरदायी भूमिका निर्बाह गर्ने प्रतिबद्दता गरेका थिए । कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका कार्यबाहक अध्यक्ष बिष्णु ओझा र दलित आयोगका सदस्य मिना देवी सोब को सम्बोधन रहेको थिए साथै राष्ट्रिय महिला आयोग, मुस्लिम आयोग, राष्ट्रिय समावेशी आयोग, जनजाती आयोग, कानुन आयोग लगायत विभिन्न आयोगहरुको सहभागिता रहेको थियो ।