काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला राखेर दबाब बढाएपछि देउवाले सोमबार पदाधिकारी बैठक बोलाएका हुन् । पौडेल निवास बोहराटारमा उनीनिकट नेताहरूको छलफल भइरहँदा सभापति देउवाले सोमबार २ बजे बस्ने गरी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक आह्वान गरेका छन् ।
पौडेल पक्षको बैठकमा पछिल्लो राजनीतिक परिवेशमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको थियो । छलफलमा वरिष्ठ नेता पौडेलले कांग्रेस अनिर्णित भएका कारण सरकारको स्वेच्छाचारिता बढ्दै जाने खतरा रहेको बताएका थिए । उनले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा पार्टीले अन्य दलसँग परामर्श थाल्नुपर्ने धारणा राखेका थिए । सभापतिले कुनै कदम नचाल्दा कांग्रेस पनि ओली सरकारकै सहयोगीजस्तो देखिएको भन्दै पौडेलले आलोचना गर्दै आएका छन् ।
‘राजनीतिक विषयमा पार्टीलाई अनिर्णित राख्न मिल्दैन । सरकारबारे कांग्रेसको धारणा प्रष्ट गरेर जानुपर्छ भन्ने कुरा उठेको छ । पदाधिकारी बैठक बोलाइएको छ । अब त्यही छलफल गर्छौँ,’ बोहराटार बैठकमा सहभागी एक नेताले भने । बैठकमा नेकपा माओवादी केन्द्र र जनता समाजवावदी पार्टीसँग मिलेर कांग्रेसले नयाँ सरकार गठनको पहल गर्नुपर्ने विषयमा छलफल भएको थियो । ‘हाम्रो नेतृत्वमा सम्भव भए हाम्रै नेतृत्वमा नभएपनि ओली सरकारको विकल्पमा नयाँ सरकार बनाउनुपर्छ भन्नेसम्मको कुरा उठेको छ,’ ती नेताले भने ।
कांग्रेसमा सभापति देउवा वैकल्पिक सरकार गठनका लागि हतारिने मनस्थितिमा छैनन् । नेकपा एमालेको विवादको परिणाम नआइसकेको र जसपाभित्र विवाद रहेकोले वैकल्पिक सरकार बनाउन बहुमत नपुग्ने देउवाको आँकलन छ । पौडेल पक्षले भने ओलीको विकल्पमा उभिने निर्णय गरेर बहुमतका लागि प्रयत्नसमेत नगरेको भन्दै नेतृत्वको आलोचना गर्दै आएको छ । बोहराटार बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका पूर्ण कार्यान्वयन, क्रियाशील सदस्यता र समायोजन विवादलगायत विषयमा पनि छलफल भएको बताइएको छ ।