काठमाडौं– नेपाली कांग्रेस ओखलढुंगाको पार्टी कार्यालय निर्माणका लागि ओखलढुंगाका स्थानीय तथा नेपाली कांगेसका महासमिति सदस्य कमल तामाङले तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमार्फत सहयोग रकम तामाङले जिल्ला कार्यसमिति ओखलढुंगाका सभापति प्रदीपकुमार सुनुवारलाई हस्तान्तरण गरेका हुन् । सहिदको भूमिका रुपमा परिचित पूर्वी जिल्ला ओखलढुंगामा नेपाली काङ्ग्रेसको पार्टी कार्यालय नभएको अवस्थामा यो भवन निर्माण पछि पार्टी कार्यालयको समस्या समेत समाधान हुने विश्वास गरिएको छ ।
नेपाली कांग्रेस ओखलढुंगाको विपी स्मृति भवन बनाउन गत वर्षदेखि सुरु गरिएको हो । यो भवन निर्माणको कार्य अहिले अन्तिम चरणमा रहेको महासमिति सदस्य तामाङले जानकारी दिए । वैदेशिक रोजगार व्यवसायी संघका समेत वरिष्ठ उपाध्यक्षसमेत रहेका तामाङ समाज सेवामा पनि सक्रिय छन् । उनले लकडाउनको समयमा ओखलढुंगा स्थायी बसोबास भइ काठमाडौंको विभिन्न स्थानमा बस्दै आएकाहरुलाई राहतसमेत वितरण गरेका थिए ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका बरिष्ठ नेता पौडेलसँगै युवा नेताहरु गगनकुमार थापा, गुरुराज घिमिरे, जीवन परियार, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङ, सांसद महेन्द्र लिम्बूलगायत ओखलढुंगा कांग्रेसका नेता कार्यकताहरुको सहभागिता रहेको थियो ।