काठमाडौं– विश्व शान्तिका लागि प्रथम, दोस्रो र विभिन्न युद्धमा सहिद भएका गोर्खालीहरुको सम्झनामा तेस्रो पूर्खा दिवस कार्यक्रम सम्पन्न भएको छ । गोर्खा सेमेट्रिज ट्रष्ट नेपालको आयोजनामा कोटेश्वरस्थित किरात राई यायोख्खाको सुम्निमा हलमा भएको कार्यक्रममा दोस्रो विश्वयुद्धको योद्धा हवल्दार मेजर प्रतावबहादुर क्षत्रीलाई अभिनन्द गरिएको थियो ।
उक्त कार्यक्रममा स्वप्निल स्मृति, चन्द्र रानाहाछाँ, महेन्द्र थुलुङ, नवीन प्यासीलगायत कविहरुले गोर्खालीहरुको योगदानलाई सर्मपित गरी कविता वाचन गरेका थिए । उक्त विशेष कविता गोष्ठीको संयोजनकर्ता प्राज्ञ कवि श्रवण मुकारुङले गरेका थिए । कविता गोष्ठीका अलवा युद्धमा सहिद भएका गोर्खालीहरुको सम्झनामा सांगीतिक प्रस्तुति, मार्सल आर्ट प्रस्तुतिसमेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्र निर्देशक तथा निर्माता नवीन सुब्बाले साहित्यले कहिँ न कहिँ गोर्खालीहरुको योगदान र सर्मपणलाई नकरात्मक तरिकाले व्याख्या गरिएको बताएका छन् । उनले कथा, कविता, गजललगायत साहित्यहरुमा गोर्खालीहरुलाई मूर्ख, भेडा, लाटो तथा एकोहोरोजस्ता विम्बहरु प्रयोग गरेर उनीहरुको योगदानलाई गलत तरिकाले वर्णन गरिएको तर्क राखे । यस्ता भाषिक रुपमा हुने गल्तीलाई हेर्दा सामान्य लाग्ने तर गलत व्याख्या प्रयोग गरिने भाषिक संरचनाहरुलाई सच्याउनु पर्ने बताए ।
गोर्खाहरुको योगदान सम्पूर्ण मानवता र विश्व शान्ति स्थापनाका लागि भएको हुनाले गोर्खाली वीरतालाई गलत एवं नकारात्मक तरिकाको वर्णन वा व्याख्या नगर्न आग्रह गर्दै वैदिक चिन्तनको आवश्यकता महसुस हुनुपर्ने जनाए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारी निर्देशक एवं ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले वीर गोर्खालीहरुको योगदानलाई निश्चित समूह वा समुदायभन्दा पनि राज्यले नै उनीहरुको योगदानलाई मूल्यांकन गर्नुपर्ने वताए ।