काठमाडौं– यही २८ चैतमा देशभर कुल तीन हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा कोभिड–१९ संक्रमण देखियो । अघिल्लो महिनाको सोही दिन २८ फागुनमा दुई हजार ५ सय जनाको परीक्षण गराउँदा ४८ जना मात्रै संक्रमित भेटिएका थिए। एक महिनाको फरकमा संक्रमणको ‘ग्राफ’ निकै माथि पुगेको उक्त दुई तथ्यांकले प्रष्टयाउँछ । त्यसमाथि अहिले देखिएकामध्ये धेरैमा नयाँ स्वरूपको भाइरस छ ।
यसपाली गतवर्षजस्तो कोरोनाको त्रास कसैमा देखिएको छैन । शंकास्पद परीक्षणमा जान अन्कनाउँछन् भने मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्नेलगायत मापदण्ड पालनामा खास जागर चलेको देखिँदैन । सडकमा राखिएका कतिपय हातधुने भाँडा प्रयोगविहीन देखिन्छन् ।
काठमाडौंको सुन्धारा, रत्नपार्कलगायत क्षेत्रमा आइतबार मास्क नलगाएका व्यक्ति धेरै भेटिए । ‘कोरोनाले अब खास केही समस्या हुने देखिएन, त्यसैले मास्क लगाइएन,’ नाम नबताउने एक जनाले भने । यो क्रम देशभरि नै छ । ठूला–ठूला भिडभाड क्षेत्र, जात्रा, मेला, महोत्सव, राजनीतिक कार्यक्रम अहिले यत्रतत्र भइरहेका देखिन्छन् । तर, मन्दगतिमा संक्रमण दर बढिरहेको ग्राफले भने आमसमुदायको ध्यान तान्न सकिरहेको छैन ।
संक्रमणको ग्राफ बढिरहेको बताउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भन्छन्, ‘अघिल्लो महिनामा बढीमा दैनिक एक सय बिरामी हुन्थे, अहिले झन्डै दोब्बर थपिएर दैनिक तीन सयभन्दा माथि देखिनु जोखिमतर्फ उन्मुख हुनु हो ।’ उनले अघिल्लो महिनामा सक्रिय संक्रमित ९ सयको हाराहारीमा रहेकामा आइतबार दुई हजार ७ सय पुगेको जानकारी दिए ।
मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै संक्रमण बढ्न थालेको भए पनि पछिल्लो १०÷१२ दिनदेखि संक्रमणको रङ्खतार अलि तीव्र छ । ‘अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प हुन्न,’ डा.गौतमले दाबीका साथ भने ।
अघिल्ले वर्ष यही समयमा भारतमा अत्याधिक संक्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासि संक्रमण दरको गति बढेको थियो ।