काठमाडौं– कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को शनिबार बसेको बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम कम गर्न सहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुने बैठकले निर्णय गरेको छ ।"
नयाँ भेरियन्ट भेटिएका ठाउँहरूमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्न प्रस्ताव आएको र सोही अनुसार छलफल भएको पर्यटनमन्त्री भानुभक्त ढकालले बताएका छन् । सीसीएमसीको बैठकमा जनस्वास्थ्य मापदण्डमा कडाइ गर्ने तथा विभिन्न सेवा सञ्चालनका बिधिबारे छलफल भए पनि कुन क्षेत्र कसरी सन्चालन गर्ने र कहाँ बन्द गर्ने भन्ने निर्णय मन्त्रिपरिषद बैठकबाटै हुने ढकालले जानकारी दिएका छन् । उनले भने, ‘२२÷२३ वटा प्रस्तावहरू आएका छन् । सबै विषयमा छलफल भएको छ र सहरी क्षेत्रका विद्यालय विशेषगरि नयाँ भेरियन्ट देखिएका ठाउँमा वैकल्पिक विधिबाट पठनपाठन सन्चालन गर्नुपर्छ भनेर सिफारिस भएको छ । कहिलेदेखि कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय क्याबिनेटबाट हुन्छ ।’
रात्रिकालिन व्यवसायहरूमा विगतको भन्दा कडाई गर्ने र जनस्वास्थ्यका मापदण्ड लागू भए नभएको कडा अनुगमन गर्ने बारेमा समेत सीसीएमसीमा छलफल भएको छ । संक्रमणको दायर हेरेर कतिपय क्षेत्र बन्द गर्नुपर्ने हुनसक्ने बैठकका एक सहभागीले बताएका छन् । रात्रिकालिन व्यवसायका लागि अलग्गै मापदण्डसमेत बनाइने भएको छ । बैठकमा नयाँ मापदण्डबारे प्रस्ताव आएको र त्यसलाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्ले स्वीकृत गर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
पछिल्लो समय देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि पुनः कडाइ गरिनुपर्ने आवाज उठ्दै आएको छ भने विद्यालयहरूमा विद्यार्थी धमाधम संक्रमित भएपछि स्वास्थ्य मन्त्रालयले नै बन्द गरिनुपर्ने बताउँदै आएको छ । तर, सरोकारवालाले स्वास्थ्य मापदण्डलाई पालना गरेर विद्यालय खोल्नुपर्ने अडान लिँदै आएपछि सरकारले निर्णयमा समेत अलमल गर्दै आएको थियो । सीसीएमसीले गरेको सिफारिस भने अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ ।