काठमाडौं– नेपालीमा एउटा उखान छ, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ अर्को भनाइ पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय छ, ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ यी दुवै उखान सायद कसैको जीवनमा एकैसाथ मेल खान्छन् भने ती व्यक्ति हुन्, जिन्दगीको ८०औँ वसन्त पार गरिसकेका व्यक्ति पुष्प खड्का ।
नेपालीहरूले औसत उमेरका आधारमा उनको उमेरलाई कतिपयले ‘डाँडा पारीको घाम’सँग पनि तुलना गर्लान् । तर, उनले अझ धेरै बाँच्नु छ र पहिरिनु छ दीक्षान्तको ताज । पुष्प यतिबेला जारी त्रिवि स्नातक तह (शिक्षाशास्त्र संकाय) को परीक्षामा सहभागी हुनका लागि काठमाडौंको बूढानीलकण्ठस्थित डेराबाट कोटेश्वरस्थित कलेज अफ नेशनल एकेडेमिक स्क्वायर (सिनास) मा धाउँदै छन् ।
यो उमेरमा किन पढाइप्रति मोह जाग्यो त ? भन्ने प्रश्नमा खड्का ठाँटिदै जवाफ दिन्छन्, ‘पढाइलाई उमेरले कहिल्यै पनि रोक्दैन, मेरो एउटै इच्छा भनेको बिएड पास गरेर दीक्षान्तमा गाउन लगाएर सहभागी हुनु हो ।’ उनले यति भनिसक्दा उनको मुखमा लगाएको मास्क सुर्किएर तल सरिसकेको थियो । अनि देखियो नाक केही सुन्निएको र नाकको बायाँ प्वालमा केही वस्तु घुसाइएको । ‘के भएको बा नाकमा ?’ प्रश्न तेर्सियो ती परीक्षार्थीसँग । ‘७÷८ वर्ष भयो छालाको क्यान्सर भएको, मेरो दुवै मिर्गाैलाले १५ प्रतिशतभन्दा बढी काम पनि गर्दैनन्’, उनले जिन्दगीको भोगाइको पोको पनि सँगसँगै फुकाए ।
प्राथमिक तहको शिक्षकमा पेन्सन पकाएर अवकाशको जीवन बिताइरहेका खड्का रोगले आजभन्दा भोलि झन्–झन् थलिँदै गएका छन् । उनले ०४८ देखि ०७० सालसम्म सरकारी सेवामा रहेर विभिन्न विद्यालयहरूमा अध्यापन गरे । दोलखा जिल्ला जिरी नगरपालिका–४ स्थायी घर भएका उनको एउटा आँखामा मोतिबिन्दु भएको छ । भन्छन्, ‘यो आँखा फिटिक्कै देख्दिनँ ।’
उनको दुवै मिर्गौलाले गत एक वर्षदेखि १५ प्रतिशत मात्र काम गरेको छ । उनी हप्ताको तीनपटक मिर्गौलाको डायलायसिस् गराउँछन् । तर, उनलाई अहिले आङ्खनो बिग्रिएको स्वास्थ्यभन्दा पढाइको चिन्ता बढी छ । भन्छन्, ‘आजकलका विद्यार्थीहरू कलेज जाने निहुँ पारी बा आमाको आँखा छलेर रमाइलो मै बढी समय खर्चिन्छन् । चुरोट तान्छन्, म उनीहरूलाई कुलतमा नफस्न र देशको विद्वान् व्यक्ति बन्न आग्रह गर्छु ।’ उनी थप्छन्, ‘आजकलका विद्यार्थी उमेरका युवतीहरू पनि कुलतमा फस्दै गएको समाचारहरूमा सुन्छु, देख्छु । कलेज पढ्ने युवतीहरूले पनि परिवार नियोजनका चक्कीहरू खाने गर्छन्, यस्ता विकृतिबाट भोलिका देशका कर्णधारहरूलाई बचाउनुपर्छ । यसका लागि स्वयं अभिभावक र सरकार पनि सचेत हुनुपर्छ ।’
यो उमेरमा उनलाई काठमाडौंमा बसेर साथ दिने जीवन संगिनी छिन् । उनी पनि स्वस्थ छैनन् । उनको पढाइमा श्रीमतीले भन्दा पनि बढी हौसला र प्रेरणा थाइल्यान्डमा रहेका छोरा र अष्ट्रेलियामा रहेकी छोरीले दिएका छन् । भन्छन्, ‘श्रीमती त राम–नाम जपेर बस्ने बेलामा के को परीक्षा ? के को पढाइ हो ? भन्दै झर्किने पो गर्छिन् ।’
राज्यले दीर्घ तथा गम्भीर रोग लागेका बिरामी (मुटु, क्यान्सर र मिर्गौला) लाई एक÷एक लाख दिने घोषणा गरी कार्यान्वयनमा ल्याइसकेको कुरा यी ‘बा’ लाई थाहा रहेनछ । यी परीक्षार्थी ‘बा’ लाई उपचार रकम लिने प्रक्रियाका बारेमा जानकारी दिँदा भने मख्ख परे ।