काठमाडौं– उनी विद्यालय पढ्दैदेखि साहित्यमा खुब रुची राख्थिन् । पछि गएर साहित्यकार बनिएला भन्ने उनको कलिलो दिमागले सोच्ने गथ्र्यो । तर प्रखर साहित्यकारका रूपमा नाम कमाउन नसके तापनि उनी अहिले यस क्षेत्रमा बिस्तारै पहिचान बनाउ सफल भएकी छन् । सुजाता आचार्य अर्थात् सुजु भण्डारीको शब्द रहेको ‘पाखे ह्यान्डसम’ बोलको गीतले उनलाई अहिले गीत संगीतको क्षेत्रमा सफलताको सिँढी चढाउने जमर्को गरिरहेको छ । सशान कँडेल र बिनु अधिकारीको स्वर रहेको गीतमा संगीत महेश ज्ञवालीले भरेका छन् ।
आफूले लेखेको गीत पहिलोपटक रेकर्ड भएर युट्युबमा अपलोड भएपछि सुजुलाई गीत लेखिदिनु प¥र्यो भन्नेहरू थपिन थालेका छन् । विशेषगरी आधुनिक, तथा सेन्टिमेन्टल गीत लेखनमा जाँगर चलाउने सुजु भन्छिन्, ‘मलाई लगानीकर्ताहरूले जस्तो परिवेशको गीत लेख्नु भनेर परिघटना सुनाउँनु हुन्छ त्यही परिवेशमा आधारित गीतहरू सिर्जना गर्ने गरेकी छु । गीत लेखन साहित्यको एक अब्बल विधा भएको उनको बुझाई छ । उनी भन्छिन्, ‘तर जब कुनै गीतकारले लेखेको गीत बजारमा हिट हुँदा पनि अधिकाँश स्रोता तथा दर्शकलाई गीतको सर्जक को हो ? कसले यो गीत कथेको हो ? उसको नाम नै थाहा हुँदैनन्, यसले गर्दा चित्त दुख्दो रहेछ ।’ उनको बुझाइ छ, ‘सुरु सुरुमा त यो क्षेत्रमा धेरै मेहनत गर्नुपर्दो रहेछ, नाम पनि छैन दाम पनि छैन ।’ आफू स्थापित हुनका लागि सित्तैमा गीत लेखिदिनु परेको तीतो अनुभव पनि उनीसँग ताजै छ । बालबालिकका लागि बालगीत, वृद्धवृद्धाका लागि भजन र हिन्दी गीत सुन्न चाहनेहरूका लागि उनले हिन्दीमा पनि गीत लेख्ने गरेकी छन् । कतिपय गीत त ‘मैैले यस्तो लखेकी छु’ भनेर अरुलाई सुनाउँदा सुनाउँदै उनीहरूले नै गीतको भाव र शब्दहरू हुबहु बनाएर उनीहरूकै नाममा रेकर्ड भएको पनि सुजुले देखेकी छन् । त्यस्तालाई उनी ‘इमानको खडेरी’ भएका कलाकार भन्न रुचाउँछिन तर आफू भने रिसाउँदिनन् । यस क्षेत्रमा बिस्तारै बामे सरिरहेकी सुजुले स्वस्फूर्त लेखेका गीतहरू सांगीतिक बजारमा प्रतिस्पर्धा गर्न लायक छन् ।
यो मनको आँगानीमा देख्छु तिम्रै रूप
जलिसक्यो यो मन अझै बाल्छौ कि धूप...?
उनले लेखेको यो गीत यतिबेला रेकर्ड भएर बजारमा आउने तरखरमा छ । यस गीतको म्युजिक भिडियो तयारी हुँदै छ ।
समसामयीक परिवेशलाई च्याप्प समातेर शब्दमा उन्न सिपालु गीतकार सुजुले लखेको अर्को गीत पनि रेकर्ड भइसकेको छ भने बजारमा आउने तयारी हुँदै छ । यो गीतको शव्दले यस्तो सन्देश दिएको छ :
पहिले पहिले रिठ्ठा पिना, अहिले त स्याम्पू हजुर
पहिले चढ्थे बयलगाढा, अहिले त ट्याक्सी हजुर
चितवनको नारायणगढस्थित विद्यालयमा पढ्दादेखि नै उनी गजल, कविता, मुक्तक, सायरी, गीत लेख्ने गर्थिन् । तर उनी वाचन गर्न भने औधी लजाउँथिन् । त्यसको फाइदा लुट्दै उनले गरेका सिर्जनाहरूमा साथीहरूले आफ्नो नाम भरेर वाचन गर्थिन् । अहिले पनि उनका सिर्जनाहरू चोरी भइरहेकै छन् । तर भन्छिन्, ‘यसमा मलाई भन्दा पनि चोर्नेलाई लाज लाग्नु पर्ने हो ।’
उनी अझै व्यवसायिक लिरिक्सका रूपमा बजारमा चिनिइसकेकी छैनन् । राम्रो र बजारमा बिकेको लिरिक्सले कति कमाउँदो हो ? त्यसको पनि उनीसँग जवाफ छैन । तर पनि गीत लेखेरै बाँच्न सकिन्छ, अहिलेको जमानामा राम्रो गीत लेखेर त्यसमा राम्रो, स्वर र संगीतले सिँगार्न सक्ने सीप भयो भने युट्युबबाटै पनि मनग्ये रकम हात पर्न सकिन्छ भन्ने उनको बुझाइ छ । र त उनी दिनरात नभनी बजारमा बिकाउ हुने खालका गीतहरू लेख्न व्यस्त छन् । उनको सांगीत र साहित्यिक रूचीलाई उनका श्रीमान्ले पनि राम्रोसँग बुझेका छन् । भन्छिन्, ‘श्रीमान्बाट धेरै सपोर्ट पाएकी छु, उहाँ पनि धेरथोर कलाकारिता क्षेत्रमै लागेको र यो क्षेत्रलाई माया गर्ने हुनुहुन्छ ।’
भोलिका दिनमा यही क्षेत्रमा लागेर नाम र दाम मनग्ये कमाउने सुजुको उत्कट चाहना छ । काठमाडौंमा बसेर जिविका चलाउन केही वर्षदेखि खोलेको बुटिकले साथ दिएको बताउने उनी आगामी दिनमा नाम चलेको गीतकार बनेर यही क्षेत्रमा स्थापित हुन सकिने दृढ संकल्प राख्छिन् ।
हट हट मौसममा चिसो चिसो पेप्सी
जसले देख्छ उसले मलाई किन भन्छ सेक्सी
व्यवसायिक बजारमा यस्ता गीत शब्दहरू बक्छन् । उस्तै गीत लेख्ने र समाज परिवर्तनका दृष्टिले चेतनशील, जागरुक, र जनवादी गीतहरू पनि सिर्जना गर्नुपर्ने उनले राम्रोसँग बुझेकी छन् । यसबारे उनको बुझाइ यस्तो छ, ‘माया प्रेमका गीतले अहिलेका युवायुवती तथा टिनएजरहरूलाई सम्बोधन गर्छ, युट्युबमा लाइक, कमेन्ट र सब्सक्राइब भई आर्थिक रूपमा सघाउँछ भने चेतनशील गीतले सामाजिक योगदानमा भूमिका खेल्छ ।’ भनिन्छ, ‘हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ ।’ सुजुको साहित्यिक यात्राको पाइलाहरू शिखरको बाटोतर्फ लम्किरहून्, शुभकामना ।