कुरा केही दिन अघिको हो, म काम बिशेषले नेपालगञ्ज देखि गौघाट जाँदै थिएँ । गणेशमान चौकबाट भित्र छिर्न लाग्दा त्यहाँ जाममा परें । लामो समय जाममा परेपछि बल्ल त्यहाँबाट निस्किन पाईयो । यो हरेक दिन भईरहेकोछ । यसको कारण साँघुरो सडक, त्यसैमा राखिएका बिभिन्न ठेलाहरु र यत्रतत्र रोकिने अटो रिक्शाहरु रहेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक अतिक्रमण हटाउन बिभिन्न पहल तथा प्रयासहरु गरेता पनि सो प्रयास सफल हुन सकिरहेको छैन । पटक—पटक म लगाएत स्थानीयहरुले नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुखसँग यस बिषयका बारेमा गुनासो गरिसक्दा समेत त्यहाँको अतिक्रमण हट्न सकेको
छैन ।
हरेक दिन दिनहुँ त्यहाँ सडक जाम हुने गरेकोछ । पुरानो र साँघरो सडक त्यसैमा ठेला र अटो रिक्शाहरुको अतिक्रमणले सडक जाम हुने गरेको हो । जामका कारण दिनहुँ स—साना दुर्घटनाहरु हुने गरेकाछन् । सवारी साधन अनुमति प्रमाणपत्र (लाईसेन्स) लगाएतका कागजात मात्रै हेर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरीहरु त्यहाँको जाम हटाउन कहिल्यै उपस्थित भएको पाईन्न । गणेशमानचौकको ड्युटीमा खटिने जनपथ प्रहरी औपचारिकता निभाउन जाम पन्छाउन उपस्थित हुने गरेकाछन् । दिनहुँ जाम हुने गरि ठेलाहरु तेस्र्याउँदा समेत समबन्धित निकाय मौन बस्नुका कारण बुझ्न सकिएको छैन ।
त्यति मात्र होईन, बिभिन्न अटोरिक्शाका समितिहरुले स्थायी रुपमा ढल माथी कल्भर्ट राखि पार्किङ्गनैं बनाएका छन् । जसका कारण दिनहुँ त्यहाँ अटोरिक्शाहरु पार्किङ्ग हुने गरेका छन् । यसबाट मनपरीतन्त्र हावि हुनुका साथै दिनहुँ दुर्घटनाहरु भईरहेकाछन् । यस तर्फ तत्काल सम्बन्धित निकायको ध्यान गई सडक अतिक्रमण बन्द गर्न जरुरी छ ।
- एक प्रत्यक्षदर्शी