काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले टिमको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएको छ । चार पटकको ‘ए’ डिभिजन लिग च्याम्पियन एनआरटीले शनिबार टिमको मुख्य प्रशिक्षकमा शाक्यलाई निरन्तरता दिईएको जनाएको छ ।
यस वर्षको ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुँदैछ । ‘हामीले टिमको प्रशिक्षकमा राजुकाजी शाक्यलाई निरन्तरता दिएका छौँ,’ एनआरटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रिय टिमका पूर्व कप्तान तथा प्रशिक्षक शाक्य अघिल्लो पटकको ‘ए’ डिभिजन लिगमा एनआरटीसँग आबद्द भएका थिए । अघिल्लो सिजन एनआरटी सातौं स्थानमा रहेको थियो ।
त्यसअघिको सिजन उनले च्यासल युथ क्लबको टिम सम्हालेका थिए । नयाँ लिगका लागि एनआरटीले दुई अफ्रिकन खेलाडीलाई समेत अनुबन्धित गरेको छ ।
एनआरटीले मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्धित गरिएको जनाएको छ । एनआरटीले बिस २०१७, २०१९, २०३५ र २०५२ सालमा लिगको उपाधि जितेको थियो ।