काठमाडौं– कोरोना भाइरसको संक्रमणको चेन ब्रेक गर्नका लागि जारी गरिएको निषेधाज्ञाको कारण धेरै टेलिभिजन कार्यक्रमहरू रोकिएका थिए ।
विशेष गरेर टेलिसिरियल र रियालिटी शो निषेधाज्ञाको मारमा परेका थिए । छायांकनका लागि कालाकार टोली बाहिर निस्कन नपाउँदा ती कार्यक्रमको प्रसारण स्थगित गर्नुपरेको थियो । तर, निषेधाज्ञा खुकुलो पारिएसँगै ती कार्यक्रमहरूको प्रसारण सुरु भएको छ ।
निषेधाज्ञाका कारण रोकिएका ‘कमेडी च्याम्पियन सिजन २’ र ‘सक्किगो नि’ को प्रसारण सुरु हुने भएको छ ।
निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर ती टेलिभिजन कार्यक्रम सञ्चालन गरिएको निर्माण टिमले जनाएको छ ।
सामाजिक दूरी पालना गर्दै कमेडी च्याम्पियनलाई निर्माण गरिएको शोका निर्देशक विशाल भण्डारीले जानकारी दिएका छन् । कार्यक्रममा सेलेब्रिटी जजको रूपमा करिश्मा मानन्धर र रेखा थापालाई प्रस्तुत गरिएको छ भने नियमित जजको रूपमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदिप भट्टराई ऋचा शर्मा छन् ।
आइतबारदेखि प्रसारण हुने गरी ९ वटा एपिसोडहरू तयारी अवस्थामा छन् । निषेधाज्ञाले रोकिएका सिरियलहरू ‘हर्के हल्दार’, ‘जुठे’ ले नियमित प्रसारण सुरु गरिसकेका छन् ।
हाँस्य टेलिसिरियल ‘सक्किगोनी’ हिमालय टेलिभिजनमा बिहिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ । बिहीबारदेखि नयाँ कथामा प्रसारण हुने टेलिसिरियलका निर्देशक एवं कलाकार कुमार कट्टेलले जानकारी दिएका छन् ।