चितवन–केही दिन देखि परेको अविरल बर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी÷पहिरो गई जनजीवन प्रभावित भईरहँदा उक्त प्रभावित ईलाकाहरूमा नेपाली सेनाको उद्धार जारी रहेको छ ।
चितवन जिल्लाको शक्तिखोर, न्युरो, लाहुरेचोक, क्लबचोक र विघा ईलाकामा बाढीका कारण डुबानमा परेका स्थानीयवासीहरूलाई नेपाली सेनाको उद्धार टोलीद्वारा उद्धार गरेको छ । साथै, सोही जिल्लाको, राप्ती नगरपालिका–१२ स्थित पर्खालेको पहिरोमा पुरिएका ४ जनाको शव निकाल्ने कार्य जारी राखेको छ । नेपाली सेनाको उद्धार टोलीले १ जनाको शव निकालेको र हराईरहेका अन्य ३ जनाको खोजी कार्य जारी राखेको छ ।
सुनसरी जिल्ला, ईटहरी उप–महानगरपालिका, ईनरुवा नगरपालिका, कोशी, हरिनगरा र भोक्राहा नरसिंह गाउँपालिका आसपासका ईलाकाहरूमा बाढीले बगाएर ल्याएको फोहोरहरू पुलमा जम्मा भई आसपासका बस्तीहरू डुबानमा परेकोले नेपाली सेनाको उद्धार टोलीले उक्त फोहोरहरू हटाई थुनिएको खोलालाई खोलेको छ । साथै, भोक्राहा नरसिंह गाउँपालिका–७ आसपासका ईलाकाहरूमा सुनसरी खोलामा आएको बाढीले बांध भत्किएर गाउँ बस्तीमा खोला पस्ने सम्भावना भएकोले नेपाली सेनाको उद्धार टोलीले स्थानिय जनताको सहयोगमा बांध मरामत गरेका छन् ।
रौतहट जिल्ला, राजदेवी नगरपालिका–९ स्थित नं.१ र नं.२ ठोकर मा कटान भएकोले नेपाली सेनाको उद्धार टोलीले उक्त कटान नियन्त्रणको लागि स्याण्डब्याग बोरीको सहायताले पुनः निर्माण कार्य गरेको छ ।
काभ्रेपलान्चोक जिल्ला, धुलिखेल नगरपालिका–११ स्थित फसकोट ईलाकामा पहिरोका कारण ३ वटा घर जोखिममा परेको हुंदा नेपाली सेनाको उद्धार टोलीले उक्त घरका सामानहरू सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।
सिरहा जिल्ला, सिरहा नगरपालिका–६, बसबिट्टा स्थित हुलाकी राजमार्ग जोडिने पुल आसपासको ईलाकामा कमला नदीमा आएको बाढीले पानीको बहाव बढ्न गई सिरहा बजारमा डुबानको जोखिम रहेकोले नेपाली सेनाको उद्धार टोलीले नदीको तटबन्ध माथिबाट पानी पस्न सक्ने सम्भावित ईलाकाहरूमा करिब २०० वटा बोरा व्यवस्थित तरिकाले राखी पानीको बहाव नियन्त्रण गरेको छ । साथै, कमला नदीमा बाढीको सम्भावना रहेकोले उक्त नदीको नजिक बस्ने १ जनालाई नेपाली सेनाको उद्धार टोलीले उद्धार गरि प्रहरीको रोहवरमा आफन्तलाई बुझाएको छ ।