काठमाडौं– क्वालिटी फिल्मस् प्रालिले अब यो क्षेत्रको विकास र प्रोत्साहनका लागि क्वालिटी इन्टरटेनमेन्ट अवार्ड ०७८’ आयोजना गर्ने भएको छ ।
‘सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन’ भन्ने नाराका साथ यो अवार्ड आयोजना हुन लागेको हो । निषेधाज्ञा खुकुलो पारिएसँगै प्रालिले अवार्डका लागि फाराम खुला गरेको छ ।
क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवर्धन तथा प्रोत्साहनका लागि अवार्ड गर्न लागिएको बताएका छन् । क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि १७ असारबाट फारम खुला गरिएको हो ।
क्वालिटी फिल्मस्को कार्यालय अनामनगर र अनलाइनमार्फत पनि यो अवार्डको फारम भर्न सकिने अध्यक्ष गुरुङले बताएका छन् । अवार्डको फारम १५ साउनसम्म बुझाइसक्नु पर्ने र त्यसपछि चाँडो भन्दा चाँडो अवार्ड आयोजना गरिने पनि अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विभिन्न ४७ विधामा प्रदान गरिने छ । गीत संगीततर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, सँगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायांकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई अवार्ड प्रदान गरिने छ ।
यस्तै चलचित्र विधाको पनि गीत संगीत, स्कृप्ट, अभिनय, निर्देशनजस्ता विधामा अवार्ड प्रदान गरिने छ । फेसन विधामा फेसन स्टाइल, कस्ट्युम डिजाइनजस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ । यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिने छ ।
अध्यक्ष गुरुङका अनुसार यो अवार्डको लागि १ वैशाख ०७६ बाट ०७८ असार मसान्तसम्म सार्वजनिक भएका गीत संगीत, म्युजिक भिडियो, चलचित्र, लघु चलचित्र, फेसन कार्यक्रम, मोडलिङजस्ता विधाले भाग लिन पाउने छन् ।
क्वालिटी फिल्मस्ले विगत डेढ दशकदेखि चलचित्र, म्युजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीत, संगीत उत्पादन तथा वितरण गर्दै आएको छ ।