काठमाडौं– कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण कुुमारी हल सधैंका लागि बन्द भएको छ । कोरोना भाइरसको महामारीका कारण खर्च धान्न नसक्ने भएपछि कमलपोखरी स्थित दुई वटा अडिटोरियम हलसहितको कुमारी सधैंका लागि बन्द भएको हो । क्युएफएक्स चेनको उक्त हल नेपालका चर्चित हलमध्येको एक हो ।
शनिबारदेखि हलभित्र रहेका सबै सामानहरू हटाउन थालिएको छ । अब हल भएको भवन अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ । ३७ वर्षको इतिहास बोकेको हल बन्द गर्न‘को कारणबारे क्युएफएक्सका सिइओ रोशन अडिगा भन्छन्, ‘कोरोना महामारीभन्दा अगाडि हल बन्द गर्ने विषयमा सोचेका पनि थिएनौँ । तर, कोभिडपछि खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्न बाध्य भएका हौँ ।’
नेपालमा फिल्म प्रदर्शनको एउटा गर्विलो इतिहास बोकेको कुमारी हलमा पहिलो पटक ‘जय सन्तोषी माता’ फिल्म प्रदर्शन भएको थियो । ०६२ सालमा क्युएफएक्सले सञ्चालनको स्वामित्व लिएको यो हलबाट नेपाली निर्माताले ठूलो मात्रामा शेयर पाउने गरेका थिए । फिल्मको च्यारिटी, प्रिमियर शो, प्रेस मिट, फिल्म महोत्सव लगायतका लागि पनि कुमारी हल अत्याधिक प्रयोग हुने गथ्र्यो ।
जय नेपाल र कुमारी हल सधैंका लागि बन्द भए पनि क्यूएफएक्सले वीरगञ्ज र दमौलीमा थप दुई नयाँ सिनेमा हल खोलेको छ । कोरोना महामारी सामान्य भएर फिल्म प्रदर्शन हुन थालेपछि दुवै ठाउँका सिनेमा हल सञ्चालनमा आउने सिइओ अडिगाले बताए । योसहित क्युएफएक्सको आउटलेट संख्या १२ पुगेको छ । अहिले क्युएफएक्सले मोफसल फ्रेन्चाइज विस्तारमा ध्यान दिएको छ ।
कोरोना महामारीका कारण देशभर सिनेमा हलहरू बन्द हुने क्रम बढेको छ । नेपाल चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार, हालसम्म २२ वटा सिनेमा हल सधैंका लागि बन्द भइसकेका छन् भने ३०-४० वटा सिनेमा हल पनि बन्द हुने अवस्थामा छन् । सिनेमा हल बन्द हुँदा हल सञ्चालकलाई त घाटा हुन्छ नै, करोडौंमा फिल्म बनाउने निर्मातालाई समेत ठूलो नोक्सानी हुन्छ ।