काठमाडौं– वरिष्ठ गायक तथा नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठ सेटमा फर्किएका छन् । कोरोना भाइरसबाट संक्रमित भएपछि दीप श्रेष्ठ २ साताभन्दा बढी अस्पतालमा उपचार गराएर फर्किएका थिए ।
उनी, कोरोनामुक्त भए पनि केही समय आराम गर्न घरमै बसेका थिए । जसका कारण, उनी ‘द भ्वाइस अफ नेपाल’को सेटमा उपस्थित हुन सकेका थिएनन् । दीप श्रेष्ठको अनुपस्थितिमा गायक राजेश पायल राई कोचको रूपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए ।
तर, अब पूर्णरूपमा निको भएपछि दीप श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । उनले भने, ‘दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, हरेक शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’
‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरू बाहिरिनेछन् । शनिबार सकिएको नकआउट राउण्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउण्डमा लगेका छन् ।
फाइनल भिडन्तका लागि टिम दीपबाट आर्यन तामाङ, गोभिन पुन र जेनिस राई छानिएका छन् । टिम प्रमोदबाट किरण गजमेर, निहारिका ज्ञवाली र रवि गहतराज छानिएका छन् । यस्तै टिम राजुबाट विजय ठाडा मगर, सोनाम शेर्पा र तारा श्रीष छनौट भएका छन् । टिम तृष्णाबाट अफ्रिदा खड्गी, ज्वाला राई र कर्णराज गिरीले लाइभ राउण्डमा जाने मौका पाएका छन् ।