काठमाडौं– कोरोना महामारीका कारण पाल्पाको पुरानो चलचित्र हल बन्द भएको छ । चार दशक लामो इतिहास बोकेको पाल्पाको एकमात्र चलचित्र हल कोरोना महामारीका कारण खर्च धान्न नसक्दा सधैंका लागि बन्द भएको हो । कोरोना भाइरस महामारीका कारण राजधानीसहित बाहिर जिल्लाका चलचित्र हलहरू एकपछि अर्को बन्द हुन थालेका छन् । काठमाडौंसहित मोफसलका विभिन्न जिल्लामा गरेर दुई दर्जन हल बन्द भइसकेका छन् । यसबीचमा पाप्लाको सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो ।
‘सन्तोष चलचित्र मन्दिर’ ०३८ सालमास्थापना गरिएको थियो । अब चलचित्र हल सधैंका लागि बन्द गर्ने निर्णय गरिएको हल सञ्चालक सन्तोष लिगलले जानकारी दिएका छन् । ‘केही वर्षयता चलचित्र हेर्ने दर्शकसमेत घटेका थिए । सामान्य अवस्थामा पनि हलमा दर्शक नहुँदा कर्मचारीलाई तलब दिन र विद्युत महसुल बुझाउनसमेत गाह्रो थियो’ उनले भने, ‘कोरोना महामारीका कारण डेढ वर्षदेखि हल ठप्प छ । अब खुले पनि चलाउन गाह्रो हुने भएकाले सधैंका लागि बन्द गर्ने निर्णयमा पुगेका हौँ ।’
३४५ सिट क्षमताको हलमा कुनै समय हलमा चलचित्र हेर्न गाउँ–गाउँबाट दर्शकको बाक्लो भीड लाग्दथ्यो । तर, पछिल्ला केही वर्षयता दर्शकको संख्या घट्दै गएको थियो । सूचना प्रविधिको सहज पहुँचसँगै दर्शकले चलचित्र हेर्ने माध्यमको विकल्प खोज्न थालेपछि हलमै गएर चलचित्र हेर्ने दर्शक घटेको लिगल बताउँछन् । एक दशक अगाडिसम्म दर्शकको भीड लाग्ने हलमा कोरोना महामारी अगाडि १०–१५ जना मात्र दर्शक आउने गरेका थिए ।
हलमा पछिल्लो पटक चलचित्र ‘आमा’ प्रदर्शन भएको थियो । चैत ०७६ मा लकडाउन भएसँगै चलचित्र हल बन्द भएको थियो । पाल्पाका केही हाइभिजन हल यसअघि नै बन्द भइसकेका थिए ।