काठमाडौं– कलाकारहरू विभिन्न राजनीतिक दलको समर्थनमा खुलेरै लाग्ने गरेका छन् । अन्य समयमा सबैको साझा बन्ने कलाकारहरू निर्वाचन तथा पार्टीका आन्तरिक प्रतिष्पर्धामा दलको समर्थनमा खुल्ने गरेका छन् ।
केहीले कलाकारहरू स्वतन्त्र हुनुपर्ने, सबैको साझा बन्नुपर्ने तर्क पनि गर्दछन्, तर दलको समर्थनमा खुल्ने कलाकारहरूले कलाकारहरू विवेक शून्य नहुने भएकाले दलसँग आस्था राख्ने वा निकट हुने कुरालाई अन्याथा लिन नहुने तर्क गर्दछन् ।
यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई १४औँ महाधिवेशनको चटारोले छोइसकेको छ । आगामी १६ देखि १९ भदौमा हुने महाधिवेशनको तीव्र तयारीमा रहेको बेला गायक मोहन राईले पनि कांग्रेस पार्टी प्रवेश गरेका छन् । उनी नेकपा एमाले परित्याग गर्दै शनिबार कांग्रेसमा प्रवेश गरेका हुन् । नेपालका ‘हेभिवेट’ नेता तथा उच्च ओहोदाका सरकारी कर्मचारीहरूले रचना गरेका गीतहरू गाएर चर्चाका शिखरमा पुगेका गायक राईसहित २९ जनाले पार्टी प्रवेश गरेका हुन् ।
‘कस्तो सपना’ र ‘मायाको खेल’ गीति एल्बम बजारमा ल्याइसकेका राईले आफ्नो नेतृत्वमा २६ जना कलाकारलाई कांग्रेसमा प्रवेश गराएको बताएका छन् । इलामको रोङ गाउँपालिका निवासी राईसहित सबै कलाकारले कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार पार्टी प्रवेशको टिकट दिए । राई जनसेवाश्री विभूषणबाट विभूषित समेत हुन् ।
सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको संयोजकत्वमा देउवा निवास बूढानीलकण्ठ पुगेका राई, हाँस्य कलाकार गणेश इशारा, सुरेन्द्र केसी ‘मुलाको साग’, गीतकार गंगाराज राई, महादेव त्रिपाठीलगायत २९ जना कलाकारले पार्टी प्रवेश गरेको कांग्रेसले जनाएको छ ।
सांगीतिक र सामाजिक काममा सक्रिय मोहनले ‘कस्तो सपना’ एल्बममा एमालेका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङका गीत समेटेका छन् । त्यस्तै उनको दोस्रो एल्बम ‘मायाको खेल’ मा व्याकुल माइला, प्रदीप ज्ञवाली, नवराज सिलवाल, दिनेश थपलियादेखि मुकेश राई, मनु लोहारुङ राई, राजा घले, दिपेन्द्र शर्मासम्मका गीत छन् ।