काठमाडौं– कोरोना महामारी सुरु भएयता कुनै पनि नयाँ फिल्ममा काम नगरी फुर्सदमा बसेकी अभिनेत्री आँचल शर्मा बेलाबेला समाचारको पात्र बनिरहन्छिन् । व्यसायिक मात्र होइन उनका व्यक्तिगत जीवनका बारेमा पनि थुप्रै समाचारहरू सार्वजनिक भइरहेका हुन्छन् । यस्तैमा पछिल्लो समय उनी गर्भवति भएको समाचार सार्वजनिक भएको थियो ।
केही दिनअघि गर्भवती भएको समाचार बाहिरिएपछि आँचलले यसबारेमा प्रतिक्रिया दिएकी छन् । चाहेर होस् ना नचाहेर समाचारको पात्र बनिरहने आँचलले सामाजिक सञ्जालमार्फत आफू गर्भवती नबनेको प्रष्टिकरण दिएकी हुन् । आँचल आफैले आमा बन्न लागेको कुराको खुलासा गरेको दाबीसहित केही अनलाइन पोर्टलहरूले समाचारसमेत छापेका थिए । उनबारेमा उनले स्पष्टीकरण दिँदै फेक न्युजबाट टाढा रहने आफ्ना प्रशंसकलाई आग्रह गरेकी छन् ।
उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘हालै, मेरो प्रेग्नेन्सी (गर्भवती) को बारेमा कयौँ खबर आए जुन खबर सुनेर म चकित छु । पक्कै पनि, नक्कली समाचारले ध्यान आकर्षित गर्छ र यसले उपेक्षा र अविश्वसनीयता सृजना गर्छ । तर, म आफ्ना शुभचिन्तकहरूलाई के स्पष्ट पार्न चाहन्छु कि केही राम्रा कारणले गर्दा यो खबर सुन्नका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्नेछ ।’
आँचलले आफू आमा बन्ने भएपछि पहिलो खबर आफूले नै सुनाउने बताएकी छन् । अघिल्लो वर्ष डा.उदीप श्रेष्ठसँग बैबाहिक जीवनमा बाँधिएकी आँचल निषेधाज्ञाको समयमा ११ दिनसम्म विपश्यनामा बसेकी थिइन् । विपश्यना ध्यान शिविरबाट फर्किएपछि उनले आफूमा धेरै परिवर्तन आएको महसुस गरेको पनि सार्वजनिक गरेकी थिइन् ।
विवाह बन्धनमा बाँधिनु अगाडि आँचलले फिल्म ‘झिँगेदाउ’ को छायांकन सकाएकी थिइन् । अब उनी आफैँ फिल्म निर्माणको तयारीमा जुटेकी छन् । फिल्म निर्देशनको अफर उनले मिलन चाम्सलाई गरेकी छन् । कोरोना महामारी साम्य भएपछि फिल्मको प्रि–प्रोडक्सनको काम सुरु हुने बताइएको छ ।