बाँके/बैजनाथ गाउँपालिकाका २ वटा वडाहरुको सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ ।
वडा कार्यालयले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
बासको सहजिकरणमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
बैजनाथ गाउँपालिका वडानम्वर ५ अरनिकोको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । सुनुवाईको अन्तमा ५ बुँदे प्रतिबद्धता व्यक्त गरिएकोछ । व्यक्त गरिएका प्रतिबद्धताहरुमा स्थानीयहरुको मागका आधारमा कृषि क्षेत्रको समग्र बिकासका लागि योजनाबद्ध तवरले काम गर्ने, युवाहरुको स्वरोजगार बिकासका साथै क्षमता अभिबृद्धि गर्ने, नागरिकहरुको गुनासो सुनुवाई गर्नका लागि सार्वजनिक सुुनुवाई नियमित आयोजना गर्ने, वडा कार्यालयले प्रदान गर्ने सेवा, सुविधालाई थप प्रभावकारी बनाउने र बिकास निर्माण लगाएतका कार्यहरु तोकिएको समय भित्रै सम्पन्न गरि असारमा हतार गर्ने प्रबृत्तिलाई निरुत्साहित गर्ने रहेकाछन् ।
प्रतिबद्धताहरुमा वडाध्यक्ष मान बहादुर खत्री, गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बि.क., प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र माझि, वडा सदस्य लक्ष्मी थारु, हुकुमलि जागा, नारायण थारु र शर्मिला सुनारले हस्ताक्षर गरेकाछन् । कार्यक्रममा स्थानीयहरुले उठाएका बिभिन्न सवालहरुको जवाफ वडाध्यक्ष मान बहादुर खत्री, गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बि.क., प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र माझिले दिएका थिए । बासका कार्यकारी नमस्कार शाहले सुनुवाईको सहजिकरण गरेका थिए ।
यसैगरी वडानम्वर ६ सम्झनाको सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ । सुनुवाईको अन्तमा १० बुँदे प्रतिबद्धता व्यक्त भएकोछ । व्यक्त भएका प्रतिबद्धताहरुमा चैत्र मसान्त भित्र सबै बिकास निर्माणका कार्यहरु सम्पन्न गर्ने, नियमित सार्वजनिक सुनुवाई गर्ने, वडा स्तरमा रहेका संजालहरुलाई सक्रिय पार्ने, अपाँगता, दलित, महिलाहरुको सशक्तिकरणका लागि बिभिन्न कार्यक्रम सञ्चालन गर्ने, जेष्ठ नागरिक केन्द्रित कार्यक्रम सञ्चालन गर्ने, लालपुरमा खेल मैदान र पुष्प बाटिका निर्माण गर्ने, बिद्युतको समस्या समाधानका लागि पहल गर्ने, वडा कार्यालयमा ईन्टरनेट जडान गर्ने र सुकुम्वासीको लालपूर्जाका बारेमा समस्या समाधानका लागि पहल गर्ने र आवश्यक सूचना मालपोतसँग माग गर्ने रहेकाछन् ।
प्रतिबद्धताहरुमा वडाध्यक्ष भद्र बहादुर बस्नेत, गाउँपालिका सदस्य मेघ सुनार, वडा सदस्यहरु दयाराम थारु, पुतलि सुनार, पुतलि हमाल, भानुभक्त बि.सी.ले हस्ताक्षर गरेका छन् । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा केन्द्रीय सदस्य ध्रुवजँग शाहले स्वागत गरेका थिए ।