काठमाडौं – पाकिस्तानमा तय भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४ औं संस्करण सन् २०२३ को मार्चमा आयोजना हुने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो ।
पाँच शहरमा आयोजना हुने १४ औं सागमा २७ खेल समावेश गरिएको छ । मुख्य खेलहरू लाहोरमा हुनेछ । त्यसबाहेक फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि खेलहरू हुनेछ ।
१३ औं साग २०१९ मा नेपालमा आयोजना भएको थियो । घरेलु सागमा नेपालले ५१ स्वर्ण ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक जितेको थियो । १३ औं सागको समापनपछि पाकिस्तानलाई १४ औं साग आयोजनाको लागि झण्डा हस्तान्तरण गरिएको थियो ।
नेपाल ओलम्पिक कमिटि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष सइद आरीफ हेसनलाई १४ औं साग आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए ।