काठमाडौं– फिल्म मेकिङमा पछिल्लो पुस्ताको सहभागिता सन्तोषजनक छ । उनीहरूले परम्परागत फिल्म मेकिङको धार परिवर्तन गर्न विभिन्न समयमा चुनौती मोल्दै आएका पनि छन् ।
पछिल्लो समय लुट, कबड्डीजस्ता सफल चलचित्रको निर्देशन तथा निर्माणमा युवा पुस्ताको सहभागिता थियो । यस्तै क्रममा तीनजना तन्नेरी फिल्म निर्माताहरूलाई प्रोत्साहन गर्न नगद पुरस्कार दिइएको छ ।
शान्ता नेपाली, सुनिल गुरुङ र ज्योत्सनासिंह ठकुरीलाई पाँच–पाँच लाख रूपैयाँ राशीको ‘लघु फिल्म निर्माण पुरस्कार’ प्रदान गरिएको हो । भर्चुअल प्रेसमिटमा आयोजित समारोहमा उनीहरूलाई विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सले पुरस्कार प्रदान गरेको हो । नेपालीको फिल्म मुना, ठकुरीको एलेक्सिया र गुरुङको विन्ड हर्सले पुरस्कार जितेका हुन् ।
उनीहरूले सन् २०२१ को अन्त्यसम्म फिल्म निर्माण गर्नुपर्नेछ । १५ मिनेटको आख्यान विधाको फिल्म बनाउन उनीहरूलाई पुरस्कार प्रदान गरिएको हो । उक्त संस्थाले गोग्रहा फिल्म कार्यशाला आयोजना गरिरहेको छ । निर्देशक दीपक रौनियारले यसअघि विराटनगर फिल्म कार्यशालाको रूपमा यसलाई चलाउँदै आएका थिए ।