सुर्खेत–प्राध्यापकहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । नेपाल राष्ट्रिय प्राध्यापक संगठन मध्यपश्चिमाञ्चल विश्वविद्यालय समितिले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो ।
संगठनले १४ वैशाखमा विश्वविद्यालय सुधारका लागि १९ बुँदे माग पत्र पेस गरेकोमा कुनै पनि सुनुवाइ नभएको भन्दै तालाबन्दी गरिएको हो ।
त्यस्तै, २५ असारमा १५ बुँदे माग पत्र पेस गरेको र ३१ गते दिउँसो वार्ताका लागि संगठनलाई बोलाएको र विश्वविद्यालयका तर्फबाट कुनै पनि सदस्य वर्ताका लागि उपस्थित नहुँदा संगठनको मानहानी, नजरअन्दाज, अपहेलना, गर्दै उपेक्षित गरेको भन्दै तालाबन्दी गरेको संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्राध्यापक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७८÷०३÷२५ गते विभिन्न १५ बुँदे माग पत्र पेस गरेको र आज मिति २०७८÷०३÷३१ दिँउसो १२ः १५ मा हाम्रो संगठनलाई वार्ताका लागि आह्वान गरेको आधारमा संगठनले तीन सदस्यीय वार्तासमिति गठन गरी वार्तास्थल केन्द्रीय कार्यालयको व्यवस्थापन संकायको डिन कार्यालयमा तोकिएको समयमा उपस्थित हुँदा उक्त समयमा विश्वविद्यालयका तर्फबाट गठित वार्ता समितिका कोही पनि उपस्थित नभएकोले हाम्रो संगठनलाई मानहानी, नजरअन्दाज, अपहेलना गर्दै उपेक्षित गरेको हुँदा सो बदनियतपूर्ण कुकृत्यका विरुद्ध बाध्य भएर तालाबन्दी गरिएको जानकारी गराउँदछौं ।’
वार्ता र छलफलका लागि तयार हुँदाहुँदै पनि तालाबन्दी गर्न विश्वविद्यालयले बाध्यातात्मक अवस्था सिर्जना गरेको उनीहरूको आरोप छ । वार्तामा डिनको कार्यालयमा बोलाएको तर त्यहाँ उपस्थित हुँदा विश्वविद्यालयका तर्फबाट कोही उपस्थित नभई बेवास्ता गरेको भन्दै प्राध्यापक संघले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन् ।
यस्तै विश्वविद्यालयले बेवास्ता गरी अगाडि बढेमा जस्तोसुकै आन्दोलनको कार्यक्रम ल्याउने र त्यसको भागीदार स्वयं विश्वविद्यालय हुने संघले जनाएको छ ।