काठमाडौं — कोरोना महामारीका कारण सबैभन्दा धेरै प्रभावित हुनेमध्ये एक क्षेत्र सिनेमा उद्योग पनि हो । पहिलो पटक नेपालमा लागू गरिएको बन्दाबन्दीको बेलामा फिल्म हलहरू सबैभन्दा लामो समय बन्द भएका थिए । धेरै दर्शकको एक ठाउँमा जमघट हुने भएकाले फिल्म हललाई कोरोनामो ‘इपिसेन्टर’मध्येको एक मान्ने गरिन्छ । त्यसैले कोरोना महामारीको समयमा धेरै मार खेप्नेमध्ये फिल्म हल एक हो ।
लामो समयसम्म फिल्म हल नखुल्दा खर्च धान्न नसक्ने भन्दै विभिन्न स्थानमा रहेका ठूला र पुराना हलहरू पूर्णरूपमा बन्द गरिएका छन् । राजधानीकै जयनेपाल, कुमारीदेखि विभिन्न हलहरू बन्द भएका छन् भने, उपत्यकाबाहिर पाल्पा, हेटौंडालगायतका स्थानमा सञ्चालित करिब डेढ दर्जन हल बन्द भएका छन् ।
यस्तैमा केही ठाउँमा धने सुविधा सम्पन्न हलहरू थपिने क्रम पनि जारी छ । मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले दमौली र वीरगञ्जमा नयाँ आउटलेट स्थापना गरेको छ । निषेधाज्ञा खुलेलगत्तै दमौलीको हल सञ्चालनमा आउने र दशैं अगाडिदेखि वीरगञ्जको सुरु हुने क्युएफएक्सले जनाएको छ ।
क्युएफएक्स तथा रेगल सिनेमाज्का निर्देशक नकिम उद्दिनले दमौलीको हल तयार भएको र वीरगञ्जको हल तीन महिनामा पुरा जानकारी दिएका छन् । निषेधाज्ञाको कारण निर्माणमा ढिलाइ भएका हलहरूको अहिले धमाधम निर्माण भइरहेको छ ।
दमौलीको एपेक्स मलमा क्युएफएक्सको फ्रेन्चाइजमा हल खुलेको हो । दुईवटा अडिटोरियम रहेको हलमा झन्डै ३ सय सिट छन् । एउटा अडिटोरियममा थ्रिडी प्रविधि जडान छ । दमौली हलको ९० प्रतिशत निर्माण पूरा भएको छ । वीरगञ्जको हलमा तीनवटा अडिटोरियम रहेको र एउटा हलमा ३६० वटा सिट रहेको जनाइएको छ ।
निषेधाज्ञाअघि क्युएफएक्सका १२ हल थिए । जयनेपाल र कुमारी हल बन्द भएपछि दुईवटा हल थपिएका छन् । क्यूएफएक्सको पर्दा संख्या २९ पुगेको छ । हल तयार भए पनि कोरोना महामारीको कारण कहिलेदेखि फिल्म हल सञ्चालनमा आउँछन् टुंगो छैन ।