काठमाडौं– अभिनेत्री पूजा शर्माले आफ्नो जीवनमा ‘कोही विशेष व्यक्ति’ आएको खुलासा गरेकी छन् । पछिल्लो समय अभिनेता आकाश अधिकारीसँग सम्बन्धमा रहेको चर्चा चलिरहेका बेला उनी आफैँले ‘कोही विशेष व्यक्ति’ आएको खुलाएकी हुन् । तर, त्यो विशेष व्यक्ति आकाश नभएको पनि उनले प्रष्ट पारेकी छन् । अभिनेत्री प्रियंका कार्कीसँगको चिटच्याट गफमा उनले आफू मिंगल हुने तयारीमा रहेको खुलाएपछि एक फ्यानले प्रश्न गरेका थिए । एक फ्यानले ‘कसम सिंगल हो ?’ भनेर सोधेको प्रश्नमा उनले भनेकी छन्, ‘सिंगल नभनिहालुम् । मेरो जीवनमा कोही आएको छ र उसलाई बुझ्दै छु । तर, त्यो व्यक्ति आकाश होइन ।’
अहिलेकी चल्तीकी अभिनेत्री पूजा जुन फिल्ममा काम गर्छिन्, त्यही फिल्मको अभिनेतासँग प्रेमको चर्चा चल्न थाल्छ । फिल्म ‘प्रेमगीत’ ताका प्रदीप खड्का, ‘म यस्तो गाीत गाउँछु’ को समयमा पल शाह र ‘रामकहानी’पछि आकासँग उनको नाम जोडियो । निर्देशक सुदर्शन थापासँग पनि उनी प्रेम सम्बन्धमा रहेको खबरले केही समय फिल्म बजार खुब तात्ने गरेको थियो ।
तर, पूजाको आकाशसँग जति घनिष्टता भने अरु अभिनेतासँग भएन । यसैले त उनीहरू प्रेममा रहेको मान्ने धेरै छन् । ‘रामकहानी’ पछि फिल्म र म्युजिक भिडियोमा निरन्तर सहकार्य गर्दै आएको यो जोडी सार्वजनिक कार्यक्रममा जाँदासमेत कहिल्यै छुटिएन । केमेस्ट्री रुचाइएका कारण उनीहरूलाई विवाह गर्न दर्शकले दबाब दिने गरेका छन् । तर, उनीहरूले कहिल्यै प्रेम स्वीकार गरेनन् । तर, पछिल्लो समय आकाश टिभि कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसँग नजिकिएपछि उनीहरूको सम्बन्धमा खटपट आएको थियो । पूजा र प्रकाशबीच ‘पानी बाराबार’को सम्बन्ध छ ।
अभिनेत्री पूजाले सही समय आएपछि आफ्नो जीवनमा आएको व्यक्तिको बारेमा खुलासा गर्ने पनि बताएकी छन् । अर्को वर्षभित्र आफू विवाह बन्धनमा बाँधिने तयारीमा रहेको समेत उनले बताइन् । बिहेबारे उनी भन्छिन्, ‘जीवनमा नयाँ मान्छे आएर बिहे गर्न लागेको चाहिँ होइन । अब बेला पनि भयो । करिअर पनि राम्रो भयो, सोचेका कुरा पनि भए । अब परिवार अगाडि बढाउनु पर्छ भन्ने भएर हो ।’ आकाशसँग आफू धेरै नजिक भएकाले प्रेमको चर्चा चलेको हुनसक्ने उनको बुझाइ छ । तर, आकाशसँग आफू कहिल्यै प्रेममा नभएको उनी बताउँछिन् । ‘काम गर्दै जाँदा दर्शकले हाम्रो जोडी मन पराउनुभयो । तर, अहिले मलाई आकाशसँग नै बिहे गर्न‘पर्छ भनेर दर्शकबाट दबाब आउन थालेको छ । यस्तो गर्दा नराम्रो लाग्ने रहेछ । किनकि, मेरो पनि व्यक्तिगत जीवन छ, असर गर्छ ।’