काठमाडौं– यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१ असारमा अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा भाडा बढाइएको सूचना राखिएको छ । तर, राजधानीमै व्यवसायीले मनपरी भाडा लिँदा पनि विभागले अनुगमन नगरेको यात्रुको गुनासो छ ।
यात्रु रामचन्द्र सिम्खडाले गोकर्णेश्वरबाट जोरपाटीसम्म तीन किमीभन्दा कम दूरी यात्रा गरेको भाडा रु २० असुलेको बताएका छन् । बढी भाडा लिने बा२ख ६८०५ नंको बसका बारेमा प्रहरीलाई जानकारी गराए पनि कारबाही नभएको उनको गुनासो छ । ट्राफिक प्रहरीको नं १०३ मा फोन गरी तोकिएकोभन्दा रु छ बढी भाडा लिएको जानकारी गराए पनि कारवाही नभएको उनको दुःखेसो छ । फोन उठाएका ट्राफिक प्रहरी चन्द्र केसीले कारबाही गराएपछि जानकारी गराउँछौँ भनेको यात्रु सिम्खडाले बताए । त्यो सवारीपछि पनि दादागिरी देखाउँदै सडकमा कुदेकाले कारबाही नभएको उनको ठम्याइ छ ।
छोटो दूरी र लामो दूरीमा दोब्बरसम्म बढी भाडा असुली भइरहेको भए पनि अनुगमन गर्नुपर्ने निकाय मौन छन् । विभागको वेबसाइटमा राखिएको ल्याण्डलाइन फोन सम्पर्क गरेर जानकारी गराउन खोज्दा फोन नउठ्ने गरेको यात्रुको गुनासो छ । महानिर्देशक नमराज घिमिरेको मोबाइल नम्बरसमेत पत्ता लगाएर फोन गरे पनि नउठेको यात्रु बताउँछन् ।
विभागले गत १७ वैशाखमा भाडा बढाउने सम्बन्धमा पठाएको फाइलको निर्णयानुसार गत असार २७ गते भाडा बढाएको हो । सवा दुई महिनासम्म फाइल थन्क्याएर सरकार परिवर्तन हुने बेलामा भाडा बढाइएको भन्दै पाँच विद्यार्थी संगठनलगायत नागरिकस्तरबाट पनि यसको विरोध भइरहेको छ ।
विभागले यातायात अनुगमनका लागि छुट्टै सवारीको व्यवस्था गरे पनि त्यसको सदुपयोग नभएको यात्रुको गुनासो छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता सञ्जीव शर्मादासले शुक्रबार तोकिएभन्दा बढी भाडा लिने १६० सवारीलाई कारवाही गरिएको जानकारी दिएका छन् । बढी भाडा लिने सवारीलाई पहिलोपटक रु ५०० देखि रु एक हजार ५०० सम्म कारवाही गरिएको महाशाखाले जनाएको छ । बढी भाडा लिने क्रम दोहो¥याउने सवारीलाई रु पाँच हजार कारवाही गरी सवारी सिज गर्नेसम्मको तयारी भएको प्रवक्ता शर्मादासले बताए । रासस