काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोईराला टोकियो ओलम्पिकमा सहभागी नहुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यशैलीप्रति असन्तुष्ट रहदै आएका कोईराला टोकियो ओलम्पिकमा नजाने भएका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उपाध्यक्ष कोईरालालाई टोकियो ओलम्पिक जाने सुचिमा राखेको थियो । उपाध्यक्ष कोईराला सहित एनओसी उप–महासचिव पिताम्बर तिम्सिना र एथलेटिक्सको टोली जुलाई २४ गते टोकियो उड्ने कार्यक्रम रहेको छ ।
‘सेभ द मिसन’ समेत रहेका सदस्य सचिव सिलवाल नेतृत्वको १० सदस्यीय टोली शुक्रबारनै टोकियो प्रस्थान गरिसकेको छ । एनओसी अध्यक्ष श्रेष्ठ नेतृत्वको टोली सोमबार टोकियो उड्नेछ । ओलम्पिकको सन्दर्भमा राखेपमा औपचारिक बैठक र निर्णय नभएको भन्दै कोईराला असन्तुष्ट छन् । खेलाडी र अफिसियल बाहेकका पदाधिकारी बोर्ड बैठकको निर्णयबाट सिफारिस हुनुपर्ने मत कोईरालाले राख्दै आएका थिए ।
सदस्य सचिव सिलवालले असार ३० गते राखेपको बोर्ड बैठक आह्वान गरेका थिए । तर सरकार परिवर्तन गर्ने सर्वोच्च अदालतको आदेशसंगै बोर्ड बैठक स्थगित बनेको थियो । राखेपको बोर्ड बैठक विगत दुई वर्षदेखि बस्न सकेको छैन । एथलेटिक्सका गोपीचन्द्र पार्की प्रकरण लगायत ओलम्पिकमा सहभागी हुने पदाधिकारीको विषयमा छलफल गर्नुपर्ने बताउँदै आएका कोईरालाले अन्तिम समयमा आएर टोकियो ओलम्पिकमा आफु नजाने घोषणा गरेका हुन् ।
उनले शनिबार निकालेको प्रेश विज्ञप्तिमा व्यक्तिगत कारण देखाउँदै यात्रामा सहभागी हुन नसक्ने बताएका छन् । राखेपबाट सदस्य सचिव सहित बोर्ड सदस्य सम्पन्न श्रेष्ठ र सुभाष श्रेष्ठ टोकियो ओलम्पिकमा उड्दैछन् । तर सम्पन्न र सुभाष राखेपको सिफारिसमा नभएर ओलम्पिक कमिटीको कर्मचारीको हैसियतमा टोकियो उड्न लागेका छन् । टोकियो जाने अधिकांश खेलकुद संघका पदाधिकारी नेपाल सहभागी हुने खेलको म्यानेजरको हैसियतमा छन् । ओलम्पिक संघको नेतृत्व गर्ने पदाधिकारी अर्को संघको म्यानेजर बनेर ओलम्पिक गएपछि चौतर्फी रूपमा यसको आलोचना भएको छ । ओलम्पिकमा सहभागी हुने दुई टोली जापान पुगिसकेका छन् ।