काठमाडौं– निस्याङ मनाङ वुमन सोसाइटी, मनाङ मस्र्याङ्दी क्लब र मनाङ समाजले बाढीपहिरो पीडितहरूलाई राहत वितरण गरेको छ ।
निस्याङ मनाङ वमन सोसाइटीका उपाध्यक्ष खण्डा लामा गुरुङका अनुसार ती संस्थाहरूबाट असारको पहिलो हप्ताको बाढीपहिरोका पीडितहरूलाई तल्लो मनाङ सदरमुकाम चामे र धारपानी गाउँमा राहत वितरण भएको हो ।
चामे र धारपानी गाउँमा ४० वटा ब्ल्यांकेट, १० घरपरिवारलाई भाँडाकुँडा सेट, साथै पीडितहरूको आवश्यकता अनुसार मिनरल वाटर, मैनबत्ती, माक्स, चाउचाउ, बिस्कुटजस्ता अत्यावश्यक खाद्यान्न दुई वटा हेलिकोप्टरबाट ल्याई वितरण गरिएको छ ।
त्यस्तै, मनाङको तालमा ७० जनालाई म्याट्रेस, ब्ल्यांकेट, चामल, दाल, खुर्सानी, ७० महिलालाई लत्ता कपडाजस्तै टि–सर्ट भेस्ट, पुरुषलाई ट्र्याक सेट र २० घर परिवारलाई पकाउने भाँडाकुँडा सेट हेलिकप्टरबाट ल्याई वितरण गरिएको अध्यक्ष गुरुङल बताए ।
माथिल्लो मनाङमा सात गाउँ (पिसाङ, घ्यारु, ङाहोल, भ्राका, मनाङ, ट्यांकी र खाङ्सार) मा सातै गाउँका महिलाहरू आ–आफ्नो गाउँमा मायाको चिनो कोभिडलाई ध्यानमा राखेर पोषिलो खाद्यान्न, घ्यू, पाउडर दूध, तेल, चिनी, खुर्सानी, र माक्सका साथै मनाङ मस्र्याङ्दी क्लबबाट ज्याकेट, इकोसप बैंकबाट प्रत्येक घरलाई ४÷४ वटा हात धुने साबुन बितरण गरेका छन् ।
यी संघसंस्थाहरूको उद्देश्य हेलिकोप्टरबाट राहत मनाङ ल्याउने र फर्किँदा सातै गाउँका बालबालिकाहरूलाई काठमाडौ लैजानु, गाउँमा फसिरहेकाहरू र बिमारीलाई उद्धार गर्नु रहेको उपाध्यक्ष गुरुङले बताए । उनकै पहलमा हङकङका समाजसेवी टप आच्योङ र सुन्दरीको सहयोगमा भ्राका गाउँमा बाहिरबाट आएका मजदुरवर्गहरूलाई चामल वितरण गर्न, गाउँ अध्यक्ष कर्मा छिरिङबाट सिफारिस लिई हुम्देबाट २० बोरा चामल अत्यावश्यक परेकाहरूलाई वितरण गरिएको छ ।
त्यसैगरी भ्राका गाउँ हाल काठमाडौंका समाजसेवी राज भ्राकाले सबै गाउँलेलाई तेल, थुक्पा, नुन, पाउडर दूध वितरण गरेका छन् । बाढीले खेती विनाश गरेको र सडक अवरुद्धका काराण अब आउने दिनहरूमा सबै मनाङबासीहरूलाई अरु संघसंस्था र सरकारले सहयोग गर्न आवश्यक रहेको उपाध्यक्ष गुरुङले आग्रह गरे ।
त्यसो त ती संस्थाहरूबाट कोभिड–१९ को दोस्रो लहरमा काठमाडौंको नयाँ बजार (सोह्रखुट्टे) मा भोकाहरूलाई सडकमा प्याकिङ खाना र मजदुरहरूलाई राहत वितरण भएको थियो ।