काठमाडौं– राजनीतिज्ञ र कलाकारको बोली छेपारोले रंग फेरेझैँ बदलिरहन्छ । उनीहरू आज बोलेको कुरा भोलीपल्टै त्यो आफूले बोलेकै होइन भन्न भ्याउँछन् । अभिनेत्री वर्षा सिवाकोटीकै कुरा गर्ने हो भने अघिल्लो वर्ष उनले अमेरिका बस्ने सविनजंग थापासँगको प्रेम स्वीकार गर्दै आउँदो दुई वर्षभित्र बिहे गर्ने बताएकी थिइन् । तर, अहिले उनी आजसम्म आफू कसैको प्रेममा नभएको दाबी गरिरहेकी छिन् ।
एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नायिका वर्षाले आजसम्म आफ्नो कसैसँग प्रेममा नभएको दाबी गरेकी हुन् । उनले भनेकी छन्, ‘मेरो आजसम्म कसैसँग प्रेम सम्बन्ध भएन । प्रेम हुन्थ्यो भने त्यो व्यक्तिसँग मैले विवाह गरिसकेको हुने थिएँ । भोलिका दिनमा म जोसँग बिहे गर्छ‘, सम्झनुहोस् कि म त्यो व्यक्तिसँग नै प्रेममा रहेछु ।’
सविन र वर्षाको प्रेम सम्बन्ध १७ महिनामै टुटेको चर्चा चलेको थियो । सविनसँग अलग भएपछि उनी अभिनेता राज कटुवालसँग नजिकिएकी थिइन् । अहिले उनीहरू गहिरो प्रेममा रहेको चर्चा छ । यो जोडीले चाँडै विवाह गर्न लागेको पनि गाइँगुइँ सुनिएको थियो । सामाजिक सञ्जालमा वर्षाले राजसँगका तस्बिर शेयर गर्दै बेलाबेलामा प्रेम व्यक्त गरिरहेकी हुन्छिन् ।
वर्षाले राजसँग प्रेममा रहेको कुरा अस्वीकार गरेकी छन् । आफूहरू मिल्ने साथी मात्र रहेको उनको दाबी छ । ‘मेरो जीवनमा धेरै साथी सर्कर छैन । म अलिकता रिजर्भ बस्ने मान्छे हुँ । ६÷७ महिनादेखि म राजसँग नजिक अवश्य छु । तर, हामीबीच प्रेम छैन,’ राजको बारेमा उनी भन्छिन्, ‘मलाई राजको सबै कुरा मन पर्छ । मन नपर्ने एउटा पनि कुरा छैन । तर, राजसँग विवाहको बारेमा मैले सोचेको छैन ।’ वर्षाले आफू दुई वर्षभित्र विवाह बन्धनमा बाँधिने सोचमा रहेको पनि बताएकी छन् ।