खजुरा/खजुरा गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई सम्पन्न भएकोछ । बासको सहजिकरणमा ग्रिन कटेज खजुराको सभाहलमा उक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
२०० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न सार्वजनिक सुनुवाईमा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले यस आर्थिक बर्षमा भएका गतिविधि तथा मुख्य उपब्धिहरुबारे जानकारी गराएका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा गाउँपालिकाले दिने सेवा, सुबिधाबारे नागरिकहरुबाट लिईएको नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमत संकलनको नतिजा प्रस्तुत गरीएको थियो ।
बासकी प्रदेश नम्बर २ की संयोजक पुस्पा सुनारले स्वागत गरेको कार्यक्रममा सुनुवाईको खुला छलफलमा सहभागिहरुले पदाधिकारीहरुसँग बिभिन्न बिषयमा जिज्ञाशा तथा प्रश्नहरु राख्नुका साथै सुझावहरु दिएका थिए ।
उनीहरुले सडक, ढल निर्माण, छाडा चौपाय व्यवस्थापन, पुलपुलेसा निर्माण, सडक अतिक्रमण, गाउँपालिका पदाधिकारीहरुले प्रयोग गर्दै आएका सवारी साधन, बिकास निर्माण, लक्षित वर्ग केन्द्रीत कार्यक्रम लगाएतका दर्जनौं बिषयहरुमा जिज्ञाशा, गुनासो तथा प्रश्न राखेका थिए ।
सहभागिहरुबाट आएका प्रश्नहरुको उत्तर खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष्य एकमाया बि.क., प्रमुख प्रशासकिय अधिकृत सुन्दु प्रसाद श्रेष्ठ, वडा अध्यक्षहरु लगाएतले दिएका थिए । स्थानीयहरुको गुनासो सम्बोधन गर्दै अध्यक्ष कक्षपतिले गाउँपालिकाको मुहार फेर्नका लागि आफु लागिपरेको बताएका थिए ।
सार्वजनिक सुनुवाईको अन्तमा ७ बुँदे सार्वजनिक प्रतिबद्धता व्यक्त भएकोछ, व्यक्त भएका प्रतिबद्धताहरुमा एक महिना भित्र एम्बुलेन्स सेवा संचालन गर्ने, आगामी बर्षदेखि प्रत्येक वटामा ईन्टरनेट जडान गरी अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने, गाउँपालिकाको काम कावाही वारे नियमित जानकारी गराउन बुलेटिन प्रकाशन गर्ने, गाउँपालिकाको सेवा, सुविधालाई थप प्रभावकारी बनाउने, ज्येष्ठ नागरिकहरुका लागि कार्यक्रम संचालन गर्ने र निशुल्क स्वास्थ्य सिबिर संचालन गर्ने, आवश्यक्ताको आधारमा सडकहरु क्रमागत रुपमा कालोपत्रे गर्ने, सडक, पुल, पुलेसा नभएका कारण सास्ति भोगिरहेका नागरिहरुको गुनासोहरुको सुनुवाई गर्दै त्यस्ता योजनाहरु प्राथामिकिकरण गरी गाउँपालिकाबाट निर्माण गर्ने र गाउँपालिकाबाट सम्भब नभएका योजनाहरु अन्य निकायसंग माग गर्ने रहेकाछन् ।
प्रतिबद्धतामा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष एकमाया बिक, प्रमुख प्रशासकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, वडा नं. १ वडा अध्यक्ष सुमन मल्ल, वडा नं. २ का वडा अध्यक्ष देविलाल शर्मा, वडा नं. ३ का वडा अध्यक्ष कान्तुराम गौतम, वडा नं. ४ का वडा अध्यक्ष तिलकविर सुनार, वडा नं. ५ का वडा अध्यक्ष देवेन्द्रमान श्रेष्ठ, वडा नं. ७ का वडा अध्यक्ष अतिउल्ला खाँन, वडा नं. ८ का वडा अध्यक्ष फिरोज खाँ लगाएतले हस्ताक्षर गरेका थिए । सुनुवाई ३ घण्टा भन्दा बढि सम्म चलेको थियो ।