काठमाडौं– कुनै बेला नेपाली फिल्ममा भविष्य खोज्नु मुर्खता मानिन्थ्यो । फिल्ममा काम गरेर पेट पाल्न पनि सकिन्न भन्ने गरिन्थ्यो । तर, आज समय बदलिएको छ । फिल्ममा काम गरेरै कलाकारहरूले नामसँगै मनग्य दाम कमाइरहेका छन् । कतिले फिल्मकै कमाईले घरबारी जोडेका छन् भने कति महँगो गाडी हुँइकिने गरेका छन् । फिल्ममा चलेका कलाकारको अहिले जीवनशैली फेरिएको छ ।
यसैलहरमा अभिनेता पुष्प खड्काले अभिनयबाटै मनग्य आम्दानी गरेका छन् । कैलालीबाट काठमाडौं आएर फिल्मी दुनियाँमा संघर्ष सुरु गरेका उनले सोमबार रु. ७० लाख मूल्य पर्ने कार किनेका छन् । लामो समय म्यूजिक भिडियोमा काम गरेपछि उनले फिल्म ‘अझै पनि’ मा सहायक अभिनेताको रूपमा काम गर्ने अवसर पाएका थिए । लिड हिरोको रूपमा भने उनले फिल्म ‘दर्पण छायाँ २’ बाट ब्रेक पाए । दुवै फिल्म बक्स अफिसमा खास नचले पनि उनको करियर भने उकालो नै लागिरहेको छ ।
फिल्म ‘मंगलम’ ले उनको करिअर बदलेको हो । अहिले उनलाई फिल्मको कमी छैन । पारिश्रमिक पनि आकर्षक बुझिरहेका छन् । म्युजिक भिडियोमा पनि उनको माग उस्तै लोभलाग्दो छ । फिल्म र म्युजिक भिडियोमा काम गरेरै कैलालीमा पक्की घर बनाएका पुष्पले सोमबार कार पनि खरिद गरेका हुन् । उनले हुन्डाइको क्रेटा गाडी घर भित्र्याएका छन् ।
घर र गाडी जोडिसकेपछि उनले आफूले देखेका केही सपना पूरा हुँदै गएको प्रतिक्रिया दिएका छन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाइ छ । उनी भन्छन्, ‘यो भनेको आफ्नो आवश्यकताअनुसार जोड्दै जाने कुरा हो । तर, मेरो सधैं राम्रो कलाकार बन्ने नै सपना थियो र सधैंभरि रहिरहनेछ ।’ मनोरञ्जन दुनियाँमा लागेर जीवन चलाउन दुःख नहुने उनको अनुभव छ ।
निषेधाज्ञा खुकुलो भएसँगै पुष्पलाई म्यूजिक भिडियोमा भ्याइनभ्याइ छ । स्थिति सामान्य भएपछि उनी निर्देशक मुकुन्द भट्टको नयाँ फिल्ममा काम गर्ने तयारीमा छन् । निषेधाज्ञाभन्दा अगाडि उनी अभिनित फिल्म ‘कृष्ण लीला’ र ‘मनसँग मन’ प्रदर्शनको मुखमा थियो । तर, कोरोनाले दुवै फिल्मको रिलिज रोकियो । उनी अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनको पर्खाइमा छ ।