काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा ओलम्पिक जाने टोलीलाई सोमबार बिदाई गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का कार्यवहाक सदस्य सचिव यकेन्द्र कुँवरले श्रेष्ठ नेतृत्वको टोलीलाई बिदाई गरेका हुन् । काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवहाक सदस्य सचिव कुँवरले श्रेष्ठलाई शुभकामना सहित बिदाई गरे ।
टोलीमा श्रेष्ठ सहित एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यैपाने, राखेप बोर्ड सदस्यहरू सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ रहेका छन् ।
टोलीलाई बिदाई गर्दै कार्यवहाक सदस्य सचिव कुँवरले कठिन अवस्थामा ओलम्पिकमा सहभागी हुन लागेको नेपाली टोलीलाई उच्च प्रर्दशनका लागि शुभकामना दिएका थिए । उनले सुरक्षित रूपमा टोकियो पुगेर नेपाली खेलाडी उच्च प्रर्दशन गर्ने अपेक्षा राखे ।
‘कोभिड महामारीका बीच नेपाली टिम जापान जादैछ । ओलम्पिकमा उच्च प्रर्दशन गर्ने अपेक्षा हामीले गरेका छौं । टिमको सुरक्षित यात्राको कामना गर्दछु ।’ उनले भने । बिदाई कार्यक्रममा राखेपका बोर्ड सदस्य गोबिन्द भट्टराई, रेनुका नगरकोटी, आर्चरी संघका अध्यक्ष महासचिव रमेश प्रसाद सिवाकोटी उपस्थित थिए । गत साउन १ गते राखेप सदस्य सचिव तथा सेभ द मिसन रमेश सिलवाल नेतृत्वको १० सदस्यीय टिम जापान उडेको थियो । जुलाई २४ मा एनओसी उप–महासचिव पिताम्बर तिम्सिना नेतृत्वको टिम जापान उड्नेछ ।
राखेप उपाध्यक्ष शिव कोईरालाले व्यक्तिगत कारण देखाउँदै जापान नजाने घोषणा गरिसकेका छन् । उनी राखेप र ओलम्पिकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जापान नजाने घोषणा गरेको बुझिएको छ ।