नवलपुर– सोमबारबाट दिन सुरु गरिएको जोन्सन एन्ड जोन्सन खोप गण्डकी प्रदेशमा पनि दिइएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरे । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् ।
खोप कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए । प्रदेशको स्वास्थ्य, शिक्षामा विशेष जोड दिँदै समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने अभियानमा आफ्नो सरकार लागिरहेको पोखरेलको भनाइ छ । खोप कार्यक्रममा अपांगता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा सुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको छ ।
उक्त खोप मंगलबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण गरिने छ । नेपालमा अहिलेसम्म आएको खोपको दुई मात्रा लगाउनुपर्ने थियो भने जोन्सन एन्ड जोन्सन खोप एकपटक मात्र लगाए पुग्नेछ । मुख्यमन्त्री पोखरेलले सोमबार स्वास्थ्य कार्यालय नवलपुर, शिक्षा तथा समन्वय एकाइ कार्यालयलगायत कार्यालयहरूको निरीक्षणसमेत गरे ।