काठमाडौं– टेलिभिजन अभिनेत्री ‘चम्सुरी’ अर्थात पल्पसा डंगोल दुवै मिर्गौलाले काम नगरेपछि उपचार गराइरहेकी छन् । विगत दुई वर्षदेखि मिर्गौलामा समस्या भएर उपचार गराइरहेकी उनको पछिल्लो पटक गरिएको डाइलाइसिसका क्रममा भने दुवै मिर्गौलाले काम गर्न छाडेको थियो । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी उनको दुवै मिर्गौला फेर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।
एक महिनादेखि अस्पतालमै रहेकी चम्सुरीको पछिल्लो अवस्था सार्वजनिक भएसँगै उनको उपचारका लागि भन्दै सहयोग संकलनको काम समेत सुरु भएको छ । चम्सुरीलाई सघाउन अहिले देश तथा विदेशस्थित कलाकारले आर्थिक अभियान चलाएका छन् । तर, चम्सुरीले भने आफूलाई पैसा नभएर मिर्गौला चाहिएको बताएकी छन् । आफ्नो लागि आर्थिक संकलन भन्दा मिर्गौला दान महत्वपूर्ण रहेको उनको भनाइ छ ।
उपचारमा आफू नै सक्षम भएकाले आर्थिक सहयोग आवश्यक नपर्ने तर, आफूलाई मिर्गौला जरुरी भएको उनले जनाएकी छन् । डाक्टरले ५० लाख लाग्ने बताएको छ । तर, अहिले २० लाख जति लाग्ने भएपछि आर्थिक संकलन नगरिएको चम्सुरीनिकट अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बताइन् । उनले भनिन्, ‘सुरुमा उपचारका लागि ५० लाख लाग्छ भन्ने कुरा भएपछि हामीले पनि रकम संकलन अभियान सुरु गर्ने कि भन्ने विषयमा छलफल गरेका थियौँ । तर, डाक्टरले १५ देखि २० लाख रूपैयाँ मात्र लाग्ने बताएपछि रकम संकलन नगर्ने कुरा भएको छ । पल्पसाले आफैँ रकम तिर्न सक्ने बताउनुभएको छ ।’
दीपाका अनुसार हाडनाता जोडिएकाबाट मात्र किड्नी लिन मिल्ने भएकाले पनि पल्पसाका लागि आफन्तबाट नै किड्नी ट्रान्सप्लान्ट गर्ने विषयमा छलफल भइरहेको छ ।