काठमाडौं– कोरोना महामारीका कारण सबैभन्दा धेरै प्रभावित भएको क्षेत्रमध्ये चलचित्र क्षेत्र पनि एक हो । धेरै मानिसले एकै ठाउँमा भेला भएर हेर्नुपर्ने भएकाले सरकारले कोरोनामा लहर सुरु हुनेवित्तिकै सुरुमा फिल्म हलहरू बन्द गरेको थियो ।
भौतिक दूरी कायम हुन नसक्ने भएकाले फिल्म हल कोरोनाको ‘इपिसेन्टर’ बन्न सक्ने भएकाले हलहरू बन्द गरिएका हुन् । हल नै बन्द भएपछि फिल्म निर्माणको काम पनि प्रभावित भएको छ ।
पछिल्लो समय कोरोना संक्रमण केही कम भएपछि सरकारले सामाजिक दूरीको मापदण्ड पालना गर्दै फिल्म छायांकनको लागि भने अनुमति दिने तयारी गरेको छ । सञ्चार मन्त्रालयसँग यसबारे अनौपचारिक छलफल भएको र केही दिनमै औपचारिक रूपमा अनुमति दिने तयारी रहेको चलचित्र विकास बोर्डले जनाएको छ ।
सरकारले अहिले २५ जनाभन्दा बढी संख्यामा सार्वजनिक थलोमा भेला हुन रोक लगाएको छ । फिल्म सुटिङ गर्दा २५ जनाभन्दा कम संख्यामा ‘कास्ट एन्ड क्रू’ उपस्थित गराएर मात्र छायांकनको अनुमति दिने तयारी छ ।
बोर्ड अध्यक्ष दयाराम दाहालका
अनुसार नयाँ मन्त्री नियुक्त हुनेवित्तिकै छायांकन अनुमति दिने बारेमा औपचारिक घोषणा हुनेछ ।
सरकारले अनुमति नदिए पनि अहिले फिल्म सुटिङ धमाधम हुन थालेको छ र बोर्डले सहजीकरण गरिरहेको छ । ‘सुटिङ सुरु भइसकेको छ र हामीले कुनै अप्ठ्यारो नहोस् भनेर सहजीकरण गरिरहेका छौँ’ दाहालले भने । कोभिड–१९ को दोस्रो लहरको रोकथामका लागि निषेधाज्ञा लागू भएसँगै फिल्म छायांकन पनि रोकिएको थियो । तर, तत्काल फिल्म हल खुल्ने सम्भावना चाहिँ छैन ।
यसका लागि कोभिड संकट व्यवस्थापन केन्द्र सिसिएमसीले निर्णय गर्न‘पर्छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड संक्रमण दर १० प्रतिशत झरेमात्र फिल्म हल खुलाइने छ । अहिले संक्रमण दर २१ प्रतिशत छ ।