विराटनगर– छैँटौँ संस्करणको ‘मिस कोशी’ प्रतियोगिताको पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनोट भएका छन् । विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिकरूपमा लिएको अडिसनमा सहभागी ३१ जनामध्ये १७ जना फाइनलको लागि छनोट गरिएको हो । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि दोस्रो र तेस्रो चरणको अडिसन पनि गरिने आयोजकले जनाएको छ । प्रालिका अध्यक्ष जयराज रायका अनुसार दोस्रो अडिसन विराटनगरमा १५ साउन र इटहरीमा १६ साउनमा हुनेछ ।
कोभिड १९ को कारणले आयोजकले स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै अडिसन गर्दै आएको प्रबन्ध निर्देशक निशा खतिवडाले जानकारी दिइन् । ‘अडिसनमा भाग लिने किशोरीहरूको लागि हामीले अनलाइनबाट पनि आवेदन लिने गरेका छौँ,’ उनले भनिन्, ‘इच्छुकले अनलाइनबाट पनि यस प्रतियोगिताको अडिसनमा सहभागीता जनाउन पाउनुहुनेछ ।’
किशोरीमा भएको प्रतिभा उजागर गर्न‘को साथै व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगामी भदौ अन्तिमतिर हुने आयोजकले जनाएको छ ।
आयोजकले सहभागीहरूको सहजताको लागि अनलाइन र भौतिकरूपमा अडिसन लिने गरेको छ । फाइनलका लागि ३० देखि ३५ जना किशोरी छनोट गर्ने आयोजकले तयारी गरेको छ । प्रतियोगिताको विजेता स्कुटर र विभिन्न गिफ्ट ह्याम्परको साथै पोखरा टुर पनि जित्ने छ ।