काठमाडौं–अभिनेत्री नम्रता सापकोटा आफ्नो अभिव्यक्ति कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । कहिले नेपोटिजम्को विषय र कहिले व्यक्तिगत विषयमा गरिएको टिप्पणीका कारण पनि उनको चर्चा मनोरन्जन क्षेत्रमा भइरहन्छ । पछिल्लो पटक ‘बिहे नगरी आफू आमा बन्ने चाहाना रहेको’ अभिव्यक्तिले उनलाई भाइरल बनायो । आफ्नै बोलीले उनलाई बेलाबेला ‘कन्ट्रोभर्सी’मा तान्ने गरेको छ । यद्यपि उनी आपूmलाई लागेको कुरा निर्धक्क भन्न त्यस्ता चर्चाले रोकेको छैन ।
अघिल्लो लकडाउनमा उनी नेपोटिज्मको कारणले चर्चामा थिइन् । नेपाली फिल्ममा पनि आफन्तवाद (नेपोटिज्म) व्याप्त भएको बताएपछि उनी चर्चामा आएकी थिइन् । दोस्रोपटकको लकडाउनमा पनि नम्रता अभिव्यक्तिकै कारणले चर्चामा छिन् । गतसाता एक टेलिभिजनसँगको अन्तर्वार्तामा नम्रताले आफूलाई सिंगल मदर बन्न चाहेको बताएपछि सामाजिक सञ्जाल उनको पक्ष र विपक्षमा विभाजित भएको छ ।
आफूलाई बिहेभन्दा बच्चा पाउनु रहर भएको नम्रताको कथन छ । तर, यसैसाता अर्को एक अन्तर्वार्तामा उनले आफू स्पष्टावक्ता भएकाले कसैसँग डर मान्नुपर्ने कारण नभएको बताएकी छन् । उनले टिकटकमा केहीले आफ्नो सात पुस्तासम्मलाई गाली गरेको पनि खुलाएकी छन् । ‘हो, मलाई टीकटकमा मेरो सात पुस्तालाई गाली गरेका छन्’ नम्रता भन्छिन्, ‘टीकटकमा बहस भन्दा प्लेटफर्मको दुरूपयोग भएको छ ।’
टिकटकको सदुपयोगभन्दा दुरूपयोग भएको बताउँदै नम्रताले एक घन्टाको कुरालाई तीन मिनेटमा सीमित राखेर बुझ्न नसकिने बताइन् । टिकटकमा हिट भएकै कारण चर्चामा आएकालाई पनि उनले सुझाउँदै लगाव र मिहेनतबाट आउन भनेकी छन् । नम्रता पछिल्लो समय म्युजिक भिडियो र सामाजिक काममा व्यस्त छिन् ।