काठमाडौं – नेपाल पुलिस क्लबसँग केल्मीले प्रायोजन सम्झौता गरेको छ । बिहीबार एक औपचारिक कार्यक्रमकाबीच नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र केल्मीको आधिकारिक बिक्रेता कामरु ट्रेनिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक उत्तम न्यौपानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाल पुलिस क्लबको फुटबल, भलिबल र बास्केटबल टिमलाई केल्मीले चार वर्षका लागि प्रायोजन गर्ने भएको छ । नेपाल प्रहरीको खेलकुद समितिका तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले प्रहरीको खेलकुद क्षेत्रको विकास र विस्तारका लागि केल्मीसंग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
उनले आगामी दिनमा समेत केल्मीसंग सहकार्य रहने धारणा राखेका थिए । कामारु ट्रेडिङ प्रालीका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले केल्मी ब्राण्डबारे कार्यक्रममा जानकारी दिएका थिए । केल्मीले सन् २०१९ जुलाइ १० मा पुलिसको फुटबल टिमका खेलाडीलाई जर्सी सेट, मोजा र टी–सर्ट प्रयोजन गर्दै खेलाडी तथा अफिसियललाई केल्मीको उत्पादित सामाग्रीमा ३० प्रतिशतसम्म छुट दिने दुई वर्षको सम्झौता गरेको थियो ।
सोही सम्झौताको नविकरण गरि भलिबल र बास्केटबललाई समेत खेल सामाग्री उपलब्ध गराएर चार वर्षको सम्झौता गरिएको केल्मीले जनाएको छ । सम्झौता अनुसार तीनै खेलका पुरुष र महिला टिमले केल्मीको खेल सामाग्री प्रयोग गर्नेछन् । सम्झौतामा नेपाल पुलिस क्लबका पुरुष फुटबल खेललाई युरोपियन फुटबल क्लबसंग अनुबन्ध गरि प्रत्येक वर्ष एक जना खेलाडीलाई प्रशिक्षणका लागि पठाउने व्यवस्था गरिने समेत उल्लेख छ ।
पछिल्लो समय नेपाली खेलकुदमा आक्रमक बजार विस्तार गरिरहेको केल्मी राष्ट्रिय भलिबल टिमको मुख्य प्रायोजक हो । केल्मी अर्को विभागीय टिम आर्मीसंग समेत प्रयोजन सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ । यस वर्ष जापानमा हुने टोकियो ओलम्पिकमा समेत नेपाली टिमलाई केल्मीले २० लाख रूपैयाँ बढीको खेल पोशाक प्रायोजन गरेको छ ।