पोखरा– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले हरेक शिष्यले गुरुबाट प्राप्त ज्ञानको पालना गर्न सके जीवन सार्थक हुने बताएकी छन् ।
मानव मिलन संस्था पोखराले गुरु पूर्णिमाका अवसरमा संस्थाका संस्थापक नेपाल केशरी डा.मणिभद्रमुनिजी महाराजको चतुर्मास प्रवेश समारोहमा प्रमुख पौडेलले गुरुको महत्व दर्शाउँदै यस्तो बताएकी हुन् । उनले भनिन्, ‘हरेक शिष्यले गुरुबाट प्राप्त ज्ञानको पालना गर्न सके जीवन सार्थक हुनेछ । उनले गुरु परम्परा प्राचीन सनातन परम्परादेखि रहँदै आएको बताइन् ।
उनले गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाँड्ने सदियौँदेखि चलिआएको परम्परा भएको बताए । उनले भनिन्, ‘गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाँड्ने चलिआएको परम्परा हो ।
उनले द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासरत हुने गरेको बताइन् । उनले ज्ञान हासिल गरेपछि त्यो ज्ञानको पूर्ण पालना गरेर जीवनलाई ज्योर्तिमय बनाउन सके मात्र गुरूप्रतिकोे सच्चा सम्मान हुने धारणा राखिन् । दिन प्रतिदिन बढ्दो सामाजिक द्वन्द्वको निरूपण गर्दै मानव मानवबीचको सम्बन्धलाई प्रगाढ बनाएर समानता सहिष्णुता र सहअस्तित्वका साथ अगाडि बढ्न आध्यात्मिक जगत्को भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।
सो अवसरमा उनले संस्थाका संस्थापक डा मुनिजी महाराजको पोखरामा हुन लागेको चतुर्मास प्रवेशका लागि शुभकामनासमेत दिइन् ।
डा.मणिभद्रमुनिजीले गुरु बन्नुभन्दा पहिला असल शिष्य हुन जरुरी रहेको बताए । उनले सबैलाई गुरु हुन मन पर्छ तर शिष्य भएर नियम पालना गर्न कठिन हुने बताए । उनले शिष्य भएर गुरुले दिएको सन्देश पालना गर्न सके मात्र जीवनमा सत्मार्ग भेटिने उनको भनाइ छ । उनले मानवले आफ्नो क्षणिक स्वार्थका लागि हिंसाको बाटो अपनाउँदै गएको जनाउँदै आचरण बदलेर सुन्दर शान्त समाजमा रमाउन मानवजगत्लाई आग्रह गरे । जस्तो दृष्टि उस्तै सृष्टि हुने भएकाले सकारात्मक सोच राख्न उनले सुझाव दियो ।