काठमाडौं– कोरोनाको दोस्रो लहर सुरु भएसँगै गरिएको निषेधाज्ञाका कारण रोकिएको टेलिभिजन कार्यक्रमहरू धमाधम पुःन प्रशारण सुरु हुन थालेका छन् । कोरोना भाइरसको संक्रमण केही कम भएसँगै ती कार्यक्रमहरू प्रशारण हुन थालेका हुन् । निषेधाज्ञाको समयमा छायांकनका लागि सहज नभएकाले त्यस्ता कार्यक्रमहरूको प्रशारण रोकिएको थियो ।
निषेधाज्ञा खुलेसँगै कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को नयाँ भागको छायाँकन सुरु गरिएको छ । आगामी सोमबारदेखि शोलाई नियमित प्रशारणमा ल्याउने तयारीका साथ छायाँकन सुरु गरिएको कार्यक्रमका निर्देशक तथा कलाकार जीतु नेपालले जानकारी दिएका छन् । निषेधाज्ञाको समयमा ‘मुन्द्रेको कमेडी क्लब’मा पुरानै भागहरू प्रशारण हुँदै आएको थियो ।
जीतुले आगामी दिनमा पनि दर्शकहरूको चाहानालाई मध्यनजर गरेर कार्यक्रमलाई अगाडि बढाइने बताएका छन् । ‘हामीलाई विभिन्न कठिनाइहरू छन् । कत्ति कुराहरू चाहेर पनि गर्न नसकिने बाध्यता पनि छन् । सानो देश छ, सानो व्यापार छ । त्यसमा पनि कोरोनाले सबै क्षेत्र थिलोथिलो बनाएको छ’ जीतु लेख्छन्, ‘र पनि हामी जसोतसो अगाडि बढ्ने कोसिस गर्दैछौँ ।’
आफूहरूका लागि दर्शकहरूको साथ, हौसला र समर्थन भने चाहिने जीतुको भनाइ छ । नेपाल टेलिभिजनबाट सोमबार बेलुका प्रशारण हुँदै आएको ‘मुन्द्रेको कमेडी क्लब’ लोकप्रिय कमेडी कार्यक्रमअन्तर्गत पर्दछ ।
उक्त कार्यक्रममा विभिन्न सेलिब्रेटी पाहुनाका साथमा कुराकानी र हाँस्य, व्यंग्य गर्ने गरिएको छ । उक्त कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर अध्यक्षका भूमिकामा छिन् । यस अघि कलाकार तथा निर्देशक दीपाश्री निरौला अध्यक्ष रहेकामा उनको महानायक सम्बन्धी अभिव्यक्ति विवादमा परेसँगै उनलाई शोबाट हटाइएको थियो । त्यसपछि छक्कापन्जा टिमका एक सदस्यसमेत रहेका जितु र दीपकराज गिरी तथा दीपाको टिमबीच सम्बन्धमा चिसोपना आएको छ । पछिल्लो समय दीपक–दीपाको कुनै पनि नयाँ प्रोजेक्टमा जितु देखिने गरेका छैनन् । जितुले सोही विषयलाई पनि चुनौतीका रूपमा व्याख्या गर्न खोजेको विश्लेषण गरिएको छ ।