काठमाडौं– कोरोना महामारीका कारण नेपाली चलचित्र क्षेत्र अस्तव्यस्त छ । गत वैशाखबाट फैलिएको कोरोना भाइरसको दोस्रो लहरका कारण भर्खरैमात्र तंग्रिन थालेको चलचित्र क्षेत्र फेरि समस्यामा प¥यो । पहिलो पटक गरिएको लकडाउन खुलेसँगै विस्तारै चलचित्र निर्माणको क्रम सुरु भइरहेको थियो, हलहरू खुल्न थालेका थिए, निर्माता निर्देशकले हिम्मत गरेर नयाँ चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्न थालेका थिए । तर, त्यहीबेला कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि ति सबै योजनाहरू भताभुंग भएका छन् ।
दोस्रो लहरअघि नै निर्माण गरिएका धेरै चलचित्र प्रदर्शनको पर्खाइमा छन् । नयाँ चलचित्रको छायांकन तालिका प्रभावित भएको छ । यस्तैमा दोस्रो लहरको कोराना पनि केही कम भएसँगै चलचित्र र रंगमन्च क्षेत्रलाई चलायमान बनाउने विषयमा छलफल सुरु भएको छ । शनिबार गुरूपुर्णिमाको अवसर पारेर कलाकार तथा अभिनेता दयाहाङ राईसहितका कलाकारले नगरकोटमा छलफल गर्नुका साथै आगामी योजनाका बारेमा छलफल गरेका छन् ।
अभिनेता राईसहितका मण्डला नाटक घरको समूहले नगरकोटमा भेला भएर गुरूपूर्णिमा मनाएको छ । दयाहाङसहित, बुद्धि गुरुङ, विजय बराल, नाजिर हुसेनसहितका कलाकार भेला भएर गुरूपूर्णिमा मनाए । उनीहरू अधिकांश अहिले नेपाली चलचित्र क्षेत्रका चल्तीका कलाकारहरू हुन् । यद्यपि उनीहरू सबैको यात्रा भने नाटकबाट नै सुरु भएको हो । त्यसमा पनि गुरुकुल तथा मण्डलाबाट नै अधिकांश अभियन यात्रा सुरु गरेका हुन् ।
अभिनेता विजय बरालले मण्डला नाटक घरको बैठक पनि बस्ने, गुरु पूर्णिमा पनि मनाउने र रिफ्रेस पनि हुने उद्देश्यले नगरकोटमा भेला भएको बताए । ‘हामी भेला नभएको धेरै समय भयो । अब मण्डला नाटक घरलाई कसरी सञ्चालन गर्ने भन्नेबारे छलफल ग¥यौँ’ उनले भने, ‘अब दशैंपछि सञ्चालन गर्ने तरिकाले छलफल गर्छौँ ।’
गुरुको रूपमा दयाहाङ राईलाई गुरूपूर्णिमाको शुभकामना दिएको उनले बताए । कोरोना महामारी रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको कारण अहिले नाटक र सिनेमा घरहरू बन्द छन् ।